काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीमा पुनः समस्या देखिएको छ ।
विगतदेखि नै जब बजारमा कुनै कम्पनीको उच्च कारोबार भर्य नेप्से बढ्न खोज्छ, तब सिस्टमले उच्च चाप धान्न सक्दैन र डेडलकको अवस्थामा पुग्छ।
यो समस्या बारम्बार दोहोरिरहे पनि समाधानका लागि भरपर्दो प्रयास नभएको देखिन्छ ।
नेप्से नेतृत्वले भेण्डर कम्पनी वाइकोलाई बारम्बार सिस्टम सुधार्न निर्देशन दिएपछि सो कम्पनीले भनेजस्तो काम गर्न सकेको छैन । वाइकोले मात्र होइन, अनलाइनको समस्या नेप्सेको आइटी विभागले पनि समाधान गर्न सकेको छैन ।
अनलाइनमा दिनहुँजसो समस्या आउन थालेपछि नेप्से प्रमुख चन्द्रसिंह साउद तनावमा छन् । उनीहरुले पछिल्लो समय आफ्नै कर्मचारी र वाइकोले अनलाइन फेलियर बनाउन आफूलाई असहयोग पो भइरहेको हो कि भन्ने शंका निकटस्थहरुसँग व्यक्त गर्न थालेका स्रोतहरु बताउँछन् ।
साउदलाई नेप्सेबाट लेखट्ने चलखेल यसअघि पनि त्यहीभित्रबाट भएको थियो । उनलाई हटाउने खेल अर्थमन्त्रालयसम्म पुगे पनि समयमै यो विषय बाहिर आएपछि साउद एकाएक सक्रिय भई आफ्नो कुर्सी जोगाएका थिए । अनलाइनमा दिनहुँजसो समस्या सिर्जना गरेर उनको नेतृत्वलाई असफल बनाउने खेल त भइरहेको छैन ? भन्ने संशय समेत पैदा हुन थालेको छ ।
बुधबार शिवम सिमेन्टमा उच्च खरीद चाप देखिएको छ । लक्ष्मी बैंकले समेत उच्च कारोबार गरिरहेको छ । यी दुवै कम्पनीमा देखिएको उच्च खरीद चापलाई धान्न नसकेर नेप्सेको सिस्टमले काम नगरेको बताइएको छ।
यो दिन अधिकांश ब्रोकरहरुको टिएमएस लगइनमा समेत समस्या देखिएको छ ।
अनलाइनले काम गर्न छाड्नु भन्दा केही समयअघि स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाट लगायतको एक ब्रोकर समूह नेप्से प्रमुखलाई भेट्न पुगेको थियो । सो क्रममा साउदको कार्यकक्षमा ब्रोकर र नेप्से अधिकारीबीच चर्काचर्की परेको समेत सुनिएको छ ।
यसैबीच, नेप्सेस्थित स्रोतले भने डेटा सेन्टरमा आएको गडबडीले अनलाइन सिस्टम नचलेको दाबी गरेको छ । 'आजको समस्या नट्समा देखिएको समस्या होइन ।'-स्रोतले भन्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19