काठमाण्डौ । बुधबार पनि बजार बढेको छ । मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार भने ३.८७ अंकले बढेर ११९४.७७ को विन्दूमा पुगेको छ । 

नेप्से परिसूचकमा सामान्य बढोत्तरी भए पनि मंगलबारको तुलनामा बुधबार कारोबार रकममा भने गिरावट आएको छ । कारोबार रकम घटेर ४३ करोड ६४ लाखमा सीमित बन्न पुगेको छ । 

यो दिन राम्रा र बलिया कम्पनीमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.६३ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३७ अंकको बढोत्तरी देखिएको छ । 

बित्त समूहको सूचक ३.६ अंकले घटेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा १९.४५ अंक र अन्य समूहमा २.१४ अंकको गिरावट आएको छ । 
बाँकी सबै समूहको सूचक हराभरा भएका छन् । 

बैंकिङ समूह ६.१ अंकले बढेको यो दिन विकास बैंक समूहमा ३.१७ अंक, होटल समूहमा ६.४२ अंक, जलविद्युत समूहमा ४.३ अंक निर्जीवन बिमा समूहमा २५.२ अंक, जीवन बिमा समूहमा ८.३९ अंक, माइक्रोफाइनान्स समूहमा २.८१ अंक र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६८ कम्पनीका १४ लाख २२ हजार ११२ कित्ता सेयर ४३ करोड ६४ लाख ४४ हजार ६८८ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी माछापुच्छ्रे बैंकले ९ करोड ३० लाख बढीको कारोबार गरेको छ । 

नेपाल बैंकले २ करोड १ लाख बढीको कारोबार गरेको यो दिन नागरिक लगानीकोषले १ करोड ९२ लाख, प्रभू बैंकले १ करोड ६३ लाख, सानिमा बैंकले १ करोड ५६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ४० लाख, नवील बैंकले १ करोड १८ लाख, शिवम् सिमेन्टले १ करोड १२ लाख, कुमारी बैंकले १ करोड १ लाख र एनआइसी एशिया बैंकले १ करोड १ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.२८ प्रतिशतले बढेको छ । 

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीको सेयर मूल्यमा ३.४२ प्रतिशतको गिरावट आयो ।