-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सदस्य धितोपत्र दलाल कम्पनी(ब्रोकर)लाई कारोबार निलम्बन गर्ने क्रम बढ्दै गएको छ । 

गत भदौ २९ गते ब्रोकर नम्बर ४१ लिञ्च स्टक मार्केट लिमिटेड र मंगलबार ब्रोकर नम्बर १८ सगरमाथा सेक्युरिटीज प्रालिलाई धितोपत्र कारोबार गर्न बञ्चित गराइयो । ब्रोकर कम्पनीहरुले आफ्ना कम्पनीका अद्यावधिक विवरण समयमै उपलब्ध गराउन असमर्थ भएका कारणले कारोबार निलम्बन गर्नुपरेको नेप्सेले बताएको छ ।

धितोपत्र बजारको सदस्य तथा कारोबार विनियमावली,२०७५ परिच्छेद ३ मा निलम्बनसम्बन्धी व्यवस्था छ । परिच्छेद ३ को निलम्बन सम्बन्धी व्यवस्थामा कारोबार सदस्यलाई निलम्बन गर्न सक्ने व्यवस्था अन्तर्गत बुँदा नम्बर ‘झ’मा उल्लेख भए अनुसार नेप्सेले दिएको आदेश तथा निर्देशनको पालना नगरेमा निलम्बनको व्यवस्था छ । सोही विनियमवालीलाई टेकेर नै कानूनको परिपालना गरिएको सुपरीवेक्षण तथा अनुगमन महाशाखामा कार्यरत नेप्सेकी उपप्रबन्धक प्रवीण पन्धाकको भनाइ छ । ‘हामीले ७ दिनभित्र कम्पनीको अद्यावधिक विवरण नेप्सेमा पेश गर्न पत्राचार गरेकोमा उनीहरुले अटेर गरेको र पुनः ३ दिनभित्र नेप्सेलाई विवरण उपलब्ध गराउन भनेका थियौं।’ पन्धाकले भनिन् । 

बजारवृत्तमा भने नेप्सेले रिसईबी साँध्न व्यक्तिगत रुपमै यस्ता कारबाही गरिरहेको गम्भीर आरोप समेत लागेको छ । सो आरोपको पन्धाकले खण्डन गरेकी छिन् । ‘म जागिर खान आएकी हुँ, कसैसँग रिसईबी साँध्न होइन ।’ उनले थपिन् ।

ब्रोकर कम्पनीहरुको पेशागत हकहितका लागि खोलिएको स्टक ब्रोकर एसोसिएसनले धमाधम ब्रोकर कम्पनीहरुको कारोबार निलम्बन हुनु ब्रोकर र लगानीकर्ताहरुको हितविरुद्ध भएको एसोसिएसनका अध्यक्ष भरत रानाभाटको जिकिर छ । ब्रोकरहरुलाई कारोबार निलम्बन गर्ने ट्रेण्डलाई परिवर्तन गर्नुपर्ने बताउँदै रानाभाटले मार्केटको यो रोग हो, अब  कानून समयसापेक्ष बनाइनु आवश्यक रहेकोमा जोड दिए । 

बैंकहरुको नियामक नेपाल राष्ट्र बैंकले बैंकहरुलाई कार्वाही गर्दा कारोबार नै प्रभावित हुने किसिमले रोक्का नगरेको उदाहरण दिंदै कारोबार रोक्का हुने व्यवस्था परिवर्तन हुनुपर्नेमा जोड दिए ।

यता लिन्च स्टक मार्केट लिमिटेड र सगरमाथा सेक्युरिटीज प्रालिले आइन्दा गल्ती नदोहोर्याउने प्रतिवद्धता जाहेर गरेका नेप्सेले जानकारी दिएको छ ।

नेप्सेले केही दिनयता ब्रोकरहरुलाई सामान्य त्रूटि वा भूलचूक हुँदा कारोबार नै रोक्का राख्न थालेपछि सेयर बजारमा पेशागत सुरक्षामा गम्भीर असर परेको बहस छेडिएको छ । विश्वमा कहीँकतै नभएको चलन कार्यान्वयनका नाममा नेप्सेले सीधै अन्तिम हतियार प्रयोग गरी कारोबार रोक्का नै गर्ने व्यवस्थाप्रति सरोकारवाला ब्रोकरहरुले तीव्र असन्तुष्टि पोखेका छन् । 

सचेत गराउने, आर्थिक जरिवाना गर्ने र अन्तिम कारोबार निलम्बन हुनुपर्ने व्यवस्थाप्रति नेप्सेले विचार नपुर्याउँदा अन्तिम असर भने लगानीकर्ताहरुलाई परिरहेको छ । 

दोस्रो बजारमूल्यमा प्रत्यक्ष असर पर्ने खालका सूचिकरण विनियमावली विपरीतका काम गर्ने  सूचीकृत कम्पनीहरुको गतिविधिलाई भने नेप्सेले नरम नीति लिने गरेको छ । बजारमूल्यमै उत्तारचढाव आउने प्रकृतिका सूचना तथा जानकारीमा सूचिकृत कम्पनीले चलखेल गर्दा नेप्सेले कारोबार रोक्का राखेको नाटक मञ्चन गरी सचेत मात्र गराउने परिपाटी छ । तर बजारलाई कुनै असर नपर्ने कम्पनीको अद्यावधिक विवरण नेप्सेले तोकेको समयसीमाभित्र नबुझाउँदा प्रत्यक्ष सरोकारवाला ब्रोकर कम्पनीहरु भने कारोबार निलम्बनको शिकार भइरहेका छन् । 

कारोबार निलम्बनको कारबाही भोगेका ती दुवै ब्रोकर कम्पनीहरुमा नेप्सेका उच्च अधिकारीहरुको समेत लगानीको केही अंश रहेको र तिनीहरुसँगको इगो साँध्न नै कारबाही गरिएको स्रोत दाबी गर्छ ।