काठमाण्डौ । यो साता कारोबारको दुई दिनसम्म लगातार ब्रेक लागेको नेप्से इन्डेक्स आज मंगलबार भने झिनो अंकले वृद्धि भएको छ ।

नेप्से इन्डेक्स १२ सयको दौडमा हिँड्दा ११ सय ७२.६५ विन्दुबाट करेक्सन भई १७ अंकले गिरावट आएको छ ।

बजार बढिरहँदा नेप्से बढ्ने माहौल र बलियो मनोबलमा रहेका लगानीकर्ताहरु हिजो र अस्तिको घटाइले अझ बजार घट्ने पो कि भन्ने भान हुँदा आत्मविश्वासमा कमी आई खरिदारी चाप नपरेको एक ब्रोकरले बताए । उसो त प्राविधिक विश्लेषणमा आधारित भएर लगानी गर्ने लगानीकर्ताहरु बजारको तल्लो विन्दु अझै होइन कि भन्ने दोधारमा अलमल हुँदा कारोबार रकमसमेत नबढेको ती ब्रोकरको तर्क छ ।

उता पौने अर्ब रुपैयाँ रकमबराबरको कारोबार भइरहेकोमा आज भने करिब २८ करोडमा खुम्चिन पुगेको छ ।

आजको दिन हिजोको तुलनामा नेप्से इन्डेक्स १.२६ अंकले बढ्दै ११ सय ५५.३७ अंक र सेन्सेटिभ इन्डेक्स भने ०.२४ अंकले नकारात्मक हुँदा २५३.२८ अंकमा सीमित बन्न पुग्यो ।

यस दिन सूचीकृतमध्ये १६७ कम्पनीका ८ लाख ४० हजार ६७७ कित्ता सेयर ४ हजार ७३६ पटकमा २७ करोड ९२ लाख ४४ हजार १३५ रुपैयाँमा कारोबार भयो ।

साताको कारोबारको तेस्रो दिन आज मंगलबार बैंकिङ, होटल्स, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहमा रातो पोतिँदा बाँकी ८ उपसमूहमा हरियाली छायो ।

धेरै कारोबार गर्ने कम्पनी

आजको दिन एनएमबी बैंकले सबैभन्दा बढी ३ करोड ४६ लाख रुपैयाँबराबरको कारोबार गर्यो । यो दिन नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, नेपाल बैंक र एनआईसी एसिया बैंकले पनि क्रमशः १ करोड ५० लाख, १ करोड २२, १ करोड १४ लाख र १ करोड रुपैयाँबराबरको कारोबार गर्न सफल भए । त्यस्तै साल्ट ट्रेडिङ, प्रभु बैंक, नबिल बैंक, शिखर इन्स्योरेन्स र नेपाल इन्भेस्टमेन्ट बैंकले पनि क्रमशः ९५ लाख १८ हजार, ८० लाख ५४ हजार, ६९ लाख ९६ हजार, ६७ लाख ६९ हजार र ५९ लाख २१ लाख रुपैयाँबराबरको कारोबार गरे।

धेरै कमाउने र गुमाउने

आजको दिन पाँच वर्षपछि कारोबार फुकुवा भएको नेपाल फाइनान्स लिमिटेडका सेयरधनीहरुले धेरै कमाए । आजैबाट कारोबारमा आएको यो कम्पनी सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । त्यस्तै आधीखोला लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले पनि कमाउन सफल भए । यो कम्पनीको सेयरमूल्यमा झन्डै ७ प्रतिशतको हाराहारीमा उछाल आयो ।

यस्तै आजको दिन दिव्यश्वरी हाइड्रोपावर र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयरधनीहरुले धेरै गुमाए । यी कम्पनीका सेयरमूल्यमा क्रमशः ६.८९ र ५.६८ प्रतिशतले गिरावट आयो ।