काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा लामो समयदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत(सीइओ) पदका लागि तीन उम्मेद्वारको नाम सिफारिस भएको छ । 

अर्थमन्त्रालयद्वारा गठित सिफारिस समितिले उत्कृष्ट ५ मा परेका नाममध्येबाट ३ जनाको नाम सिफारिस गरेको हो । 

सिफारिस ३ नाममा नेप्सेका निवर्तमान सीइओ सीताराम थपलिया समेटिएनन् । अर्थ मन्त्रालयस्थित एक स्रोतका अनुसार चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीको नाम समितिले सिफारिस गरेको छ । 

सिफारिस यिनै ३ नामबाट अब बस्ने मन्त्रीपरिषद बैठकले एकजनालाई नेप्सेको सीइओमा नियुक्त गर्नेछ । 

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको आशिर्वाद पाएका कारण चन्द्रसिंह साउद नेप्सेको सीइओ बन्ने निकै धेरै संभावना छ । तर, बैंकर मनोज ज्ञवालीले समेत आफ्नो राजनीतिक पावर लगाइरहेकोले उनलाई समेत कम आँक्न नमिल्ने अवस्था रहेको स्रोत बताउँछ । प्रमोदराज शर्मालाई समेत केही मन्त्रीहरुको आशिर्वाद छ । 

नेप्सेको सीइओ बन्न तीनै उम्मेद्वारले राजनीतिक पावरदेखि पैसा समेत खर्च गरिरहेका स्रोतहरु बताउँछन् । एक/एकवटा राजनीतिक लाइन पक्रिएर पैसा समेत प्रशस्त खर्च गरी नेप्सेको सीइओ बन्ने संभावना देखिएकोले योग्य भन्दा पनि पोलिटिकल पावर लगाउन सक्ने र पैसा खर्च गर्नसक्ने मान्छेको हातमा लगानीकर्ताको अरबौंको लगानीको साँचो दिन लागिएकोमा आलोचना भइरहेको छ ।