काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले बजारको विकासका लागि कार्यान्वयनमा ल्याएको अनलाइन कारोबार प्रणाली भेण्डर कम्पनी वाइको प्रालिबाट जिम्मा लिने अन्तिम तयारी भइरहँदा यसका समस्या भने समाधान हुन सकेको छैन । 

नेप्सेले अनलाइन कारोबार प्रणालीमा कुनै समस्या नरहेको भने पनि दैनिकजसो उसको नयाँ तथा पुराना वेबसाइटमा प्रवाह हुने गलत तथ्याङ्कले लगानीकर्ता द्विविधामा पर्न थालेका छन् । 

धेरै कारोबारी तथा भिजिटरको चाप हुँदा नेप्सेको पुरानो तथा नयाँ वेबसाइट चल्दैन । यो समस्या पछिल्लो समय दैनिकजसो दोहोरिरहेको छ ।

यसबाहेक पछिल्लो समय नेप्सेले कारोबार रकमको अंक, नेप्से परिसूचकको अंकमा समेत खेलाँची गरिरहेको छ । जसका कारण लगानीकर्ताले सही सूचना पाउन सकेका छैनन् भने उनीहरुको लगानी निर्णय पनि यस्ता गलत सूचनाबाट प्रभाहित हुन थालेको छ । 

केही दिनअघि २ अर्ब ६८ करोडको कारोबार हुँदा नेप्सेको पुरानो वेबसाइटमा ५ अर्ब ३५ करोडको कारोबार भएको तथ्यांक डिस्प्ले भएको थियो । त्यसको भोलिपल्ट पनि पुरानो वेबसाइटमा यस्तै समस्या देखियो । 

नेप्सेका अधिकारीहरु वेबसाइटमा आइरहने समस्याको कुरा गर्दा ‘पुरानोमा मात्र यस्तो भएको, तर नयाँ वेबसाइट ठीकठाक रहेको’ बताउने गर्छन् ।

तर, मंगलबार भने नेप्सेको नयाँ वेबसाइटमै यस्तो खेलाँची देखियो । नयाँ र पुरानो वेबसाइटमा डिस्प्ले भएको तथ्याङ्क फरक हुँदा लगानीकर्ता झनै ठूलो द्विविधामा परे । 

केही लगानीकर्ताले नेप्सेको नयाँ र पुरानो वेबसाइटमा दिइएको गलत तथ्याङ्कको स्क्रीनसटसहित नेप्सेमा गुनासो समेत मेल गरेका छन् । 

मंगलबार नेप्सेको नयाँ वेबसाइटमा बजार परिसूचक(नेप्से) २२.७२ अंकले बढेर १५२४.९० मा पुगेको देखाइएको छ । जब कि यो दिन बजार ४३.०२ अंकले बढेर १५४५.१९ को विन्दूमा पुगेको हो । यो दिन नेप्सेले स्तरीय भन्ने गरेको नयाँ वेबसाइटमै गलत सूचना दिइएको भन्दै लगानीकर्ताले रोष प्रकट गरेका छन् । 

दुवै वेबसाइटमा नेप्से परिसूचकको अंक फरक देखिए पनि कारोबार रकम र खरीदबिक्री भएको सेयर संख्या भने सही छ । 

‘नेप्सेको यो पाराले हामीमा दैनिकजसो द्विविधा सिर्जना भइरहेको छ । लगानीको निर्णय समेत प्रभावित हुनसक्ने गरी यस्तो खेलाँची किन भइरहेको छ ?’ लगानीकर्ताहरुले बिजशालासँग भनेका छन्–‘यो गल्ती तत्काल सच्चियोस् । यस विषयमा धितोपत्र बोर्डले समेत चासो दिनुपर्यो । नेप्सेको वेबसाइटमा अंकको खेल गरी भइरहेको धोकाधडीले लगानीकर्ताको लगानी प्रभावित भइरहेको छ, यसमा बोर्ड नेतृत्व किन चूप छ ?’

नेपाल धितोपत्र बोर्ड नेपाली सेयर बजारको नियामक निकाय हो । उसले बजारसँग सम्बन्धित चारवटा नियमावली संसोधन गरी सकारात्मक वातावरण तयार गरे पनि नेप्सेको दैनिकजसोको खेलाँचीको विषयमा भने गम्भीरतापूर्वक चासो दिने गरेको छैन ।