काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले ब्रोकरको संख्या ५० बाट बढाएर १०० पुर्याउने गोप्य तयारी गरिरहेको थाहा पाएपछि ब्रोकरहरुले असहयोग गर्दै डाटा सेन्टरमै गडबडी गरेपछि सेयर कारोबार ठप्प बनेको आरोप लागेको छ ।
नेप्सेका अधिकारीहरुले यस्तो आरोप लगाएका हुन् । तर, ब्रोकरका नेताहरुले भने उल्टै आरोप नेप्सेको टाउकोमाथि थोपरेका छन् । डेटा सेन्टरमा गडबडी आउनुमा आफूहरुको भूमिका नरहेको र यसमा नेप्सेले नै खेल खेलेको ब्रोकरहरुले दाबी गरे ।
नेप्से र ब्रोकरबीच सिर्जना भएको नयाँ द्वन्द्वका कारण लगानीकर्ता भने साँढेको जुँधाई बाच्छाको मिचाईमा परेका छन् ।
बजारले भीषण पहिरोको सामना गरेको भोलिपल्ट मंगलबार नेप्से परिसूचकमा सुधार हुँदै गर्दा एकाएक सेयर कारोबार हुने सिस्टम र नेप्सेको वेबसाइट चल्न छाड्यो । करिब १२ः५० बजेदेखि नेप्सेको वेबसाइट चल्न छाडेको हो । वेबसाइटमा सोही समयदेखि एउटै तथ्यांक मात्र डिस्प्ले भइरहेको छ ।
नेप्सेको नयाँ र पुरानो वेबसाइट मात्र होइन, सो समयदेखि ब्रोकरहरुले सेयर कारोबारका लागि चलाउने ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस) समेत डाउन भएको छ । सबै ब्रोकरहरुको टिएमएस नचल्दा लगानीकर्ता बिलखबन्दमा परेका छन् ।
कारोबार सिस्टममा आएको समस्याको विषयमा बुझ्दा नेप्सेको आइटी प्रमुख निशा तिमल्सिनाले नेप्सेको सिस्टममा कुनै समस्या नरहेको, बरु ब्रोकरहरुको डेटा सेन्टरमा समस्या आएको दाबी गरिन् । 'हाम्रोतर्फको कमजोरीले यस्तो भएको होइन ।'-उनले बिजशालासँग भनिन् ।
तर, स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले भने नेप्सेकै कारण यस्तो भएको उल्टो आरोप लगाए । 'ब्रोकरको डेटा सेन्टरमा समस्या आएकै हो । तर, हाम्रो डेटा सेन्टर उसैले चलाउँछ ।' रानाभाटले भने-'नेप्सेले जिम्मेवारीबाट पन्छिन मात्र हामीमाथि दोष थोपरेको हो ।'
बजारको नियामक धितोपत्र बोर्डस्थित उच्च स्रोतका अनुसार सोमबार बजारमा भएको अस्वभाविक गिरावट ब्रोकरहरुको खेल र नेप्सेमाथि असहयोग गर्ने रणनीति रहेको गोप्य उजुरी परेपछि त्यसमा बोर्डले छानबिन गर्ने भयले ब्रोकरहरुले जानाजान सिस्टम बिगारेर प्रमाण नष्ट गरेका हुनसक्छन् । 'हिजो बजारमा भीषण पहिरो जाने कुनै कारण नै थिएन ।' स्रोतले भन्यो-'केही ब्रोकरहरुले ठूलो संख्यामा सेयर किनाएर अर्को बिक्रीबाट बिक्री गर्ने खेल खेलेका र लगानीकर्ताको करोडौंको लगानी जोखिममा पारेको उजुरी हामीकहाँ आएको छ । यसमा हामीले छानबिन गर्दै गर्दा एकाएक सिस्टम बिगारिएको छ । यो विषयमा समेत छानबिन गर्छौ ।'
दिउँसो १ः ३८ देखि भने कारोबार सिस्टम र वेबसाइट चल्न थालेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago