– अर्जुन तिमिल्सिना
काठमाण्डौ । पछिल्लो समय २९१४ को विन्दुबाट निरन्तर ओरालो लागेको सेयर बजार २५४० को विन्दुमा पटक–पटक सर्पोट लिएको देखिन्छ। बजार झन्डै ४०० अंकको घटेपछि केही दिनयता साइडवेजमा चलेको देखिन्छ।
केही घट्ने र घटेपछि केही समय सामान्य अंकले तलमाथि गर्ने बजारको नेचर नै हो। किनकि बजारमा बढ्दा होस् वा घट्दा लगानीकर्ताले झट्टै निस्कन वा पस्न आँट गर्दैनन्।
आज हामीले विभिन्न अल्पकालीन तथा दीर्घकालीन औजारमार्फत बजारको पछिल्लो अवस्थालाई केलाउने कोसिस गरेका छौँ।
मैनबत्ती विश्लेषणका आधारमा
यो औजार भनेको सेयर कारोबार हुँदाको मूल्यलाई चार्टमा प्रस्तुत गर्दा त्यसको आकार मैनबत्तीजस्तै देखिने भएकोले मैनबत्ती विश्लेषण भनिएको हो। आजको बजारले मैनबत्ती विश्लेषणअन्तर्गत इन्भर्टेड ह्याम्मर बनेको छ (हेर्नुहोस् कालो एरो)। यस्तो आकृति यदि बढ्दो बजारमा हरियो मारुबुजु क्यान्डलपछि बन्छ भने बजार घट्ने र घट्दो बजारमा रातो मारुबुजु क्यान्डलपछि बन्छ भने बजार बढ्ने संकेत गर्छ। आजको कारोबारमा न्यून विन्दुपछि इन्भर्टेड ह्याम्मर बनेको देखिन्छ। (हेर्नुहोस् कालो एरो)
इन्भर्टेड ह्याम्मरले बजारले बाटो परिवर्तन गर्ने संकेत गर्छ। यदि यो चार्टको माथिल्लो विन्दुमा बन्छ भने घट्ने र तल्लो विन्दुमा बन्छ भने बढ्ने भन्ने हो। आज तल्लो विन्दुमा बनेको कारण आगामी दिनमा बजारले बाटो परिवर्तन गर्न सक्ने संकेत गर्छ।
त्यसैगरी आइतबारको कारोबरमा डोजी स्टार बनेको छ (हेर्नुहोस् कालो एरो)। यस्तो डोजी स्टार यदि लामो समय बजार घटेपछि रातो मारुबुजु क्यान्डलपछि बन्छ भने त्यसलाई बुलिस डोजी स्टर भनिन्छ (हेर्नुहोस् चार कोठाभित्र हरियो एरोले देखाएको)। यसले बजारमा आपूर्ति हराउँदै गरेको र माग बढ्दै गरेको संकेत गर्छ।
इलिअट वेभ सिद्धान्तका आधारमा
यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण मानिन्छ। यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्।
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३ र ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्।
वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ‘ए’, ‘बी’ र ‘सी’ ले बजार तल जाने संकेत गर्छन्। बजारको हालको अवस्थालाई माइनर डिग्रीअन्तर्गत नियाल्दा वेभ १ मा बजार २९२२ को विन्दुसम्म बढेको देखिन्छ। वेभ २ मा बजार हाल २५४० को विन्दुसम्म आएको छ। वेभ ३ मा बजार पुनः बढोत्तरीका साथ ३८८५ को विन्दुसम्म पुग्न सक्ने र वेभ ४ मा बजार फेरि करेक्सनका साथ ३४४२ को विन्दुसम्म आउन सक्ने देखिन्छ। वेभ ५ मा पुनः बढेत्तरीका साथ बजार ४५०५ को विन्दुसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो। जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपात पनि भनिन्छ। ती अनुपात २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २८०५ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २६९९ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २६१० को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवामा २५३० को विन्दुसम्म बजार आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ)
एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ।
यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई गत २५ जनवरीमा माथिबाट काटेको छ र बियरिस क्रसओभर बनेको छ। जुन अझै भ्यालिड नै रहेको छ (हेर्नुहोस् रातो एरो)। हिस्टोग्राम नकारात्मक र क्रमश: घट्ने क्रम बढेको छ र आज फिक्का बन्दै गएका छन् (हेर्नुहोस् कालो एरो)। यो आधारमा बजार विस्तारै बढ्न सक्ने अनुमान लगाउन सकिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।
बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ। क्यान्डलहरु रातो मारुबुजु बनेका छन्। अप्पर ब्यान्ड र लोअर ब्यान्डबीचको दूरी बढेको छ। यसले बजारमा बिक्रीचाप परेको बुझिन्छ। आज बजारको क्यान्डल स्टिक तल्लो विन्दुमा छोएर इन्भर्टेड ह्याम्मर बनेको छ। बजारले योसँगै तीनपल्ट तल्लो विन्दुमा छोएर फर्केको छ। योसँगै यदि आगामी कारोबारमा हरियो मरुबुजु क्यान्डल बन्छ भने बजार बढ्ने सम्भावना देखिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ।
यसअन्तर्गत हालको बजारको आरएसआई ३४ मा रहेको छ। जसको अर्थ हुन्छ ओभर सोल्ड जोनको नजिक छ र अघिल्लोपल्ट यो विन्दु ७३ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई २० मा आउँदा अघिल्लोपटक बजारमा बुलिस यात्रा तय भएको थियो। हाल बजार ओभर सोल्ड जोननजिक रहेकोले केही समय ‘पर्ख र हेर’ को अवस्थामा पनि रहन सकिन्छ। कहिले–काहीँ बियरिस बजार ओभर सोल्ड जोनमा लामो समय पनि रहन सक्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २५९०
घटेमा सपोर्ट
निष्कर्ष
बजारका केही अल्पकालीन औजारहरुलाई केलाउँदा आज बजारले बोलिंगर ब्यान्डअन्तर्गत तल्लो विन्दुलाई छोडेर केही माथिको यात्रा तय गरेको देखिन्छ।
त्यसैगरी एमएसीडी लाइनअन्तर्गत पनि हिस्टोग्राम विस्तारै छोटा र फिक्का भएका छन्। यसले बजार अब घट्ने क्रम रोकिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ।
त्यस्तै फिवोनासीअन्तर्गत बजारले ०.६१८ प्रतिशतको सपोर्टको विन्दु २५४० मा पटक–पटक सर्पोट लिएको देखिन्छ।
मैनबत्तीअन्तर्गत पनि आज लामो सयमपछि न्यून विन्दुमा इन्भर्टेड ह्याम्मर बनेको छ। आरएसआई पनि घट्ने क्रम रोकिएको देखिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19