– अर्जुन तिमिल्सिना
काठमाण्डौ । गत सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार आज सोमबार १८ अंकले उकालो लागेको छ। बजार गत साताको बुधबारदेखि निरन्तर घटेको थियो।
यो साताको पहिलो कारोबार दिन आइतबार पनि बजार करिब १४.६७ अंकले घटेको थियो। हिजो र आजको कारोबारमा बजार करिब २६०० को मनोवैज्ञानिक तहबाट फर्केको देखिन्छ।
बजारको पछिल्लो अवस्थाको विषयमा आज हामीले विभिन्न अल्पकालीन तथा दीर्घकालीन औजारमार्फत विश्लेषण गर्ने कोसिस गरेका छौँ।
मैनबत्ती विश्लेषणका आधारमा
मैनबत्ती विश्लेषण भनेको बजारमा सबैभन्दा छिटो संकेत दिने औजार मानिन्छ। यो औजारले बनाएका विभिन्न आकृतिका आधारमा बजारको अवस्थालाई नियाल्ने कोसिस गरिन्छ। आज बजारले ह्याम्मर आकृतिको मैनबत्ती बनाएको छ। यदि घट्दो बजारमा ह्याम्मर आकृति बन्छ भने आगामी दिनमा बजार बढ्ने संकेत गर्छ। यसले घट्दो बजारमा न्यून विन्दुलाई ह्याम्मरले हान्न लागेको बुझिन्छ। यसमा ह्याम्मरको रङको खासै महत्वपूर्ण हुँदैन।
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
यो वेभअन्तर्गत बजारको पछिल्लो अवस्थालाई माइनर डिग्रीअन्तर्गत हेर्दा न्यून विन्दु २५०० देखि २७०० सम्म वेभ (i) र हालको करेक्सन लगभग २६०० सम्म वेभ (ii) र अबको बढोत्तरी वेभ (iii) लगभग ३००० सम्म चल्न सक्ने देखिन्छ। त्यसपछि वेभ (iv) मा करेक्सनका साथ २९०० सम्म र वेभ (v) मा बजार लगभग ३३०० सम्म पुग्न सक्ने देखिन्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २६३८ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २६११ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २५८७ को विन्दुसम्म र ०.६१ को टेवामा २५६६ को विन्दुसम्म बजार आउन सक्ने देखिन्छ। (जुन तल तस्बिरमा हेर्न सकिन्छ)
एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ।
यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई गत १४ मार्चमा तलबाट काटेर बुलिस क्रसओभर बनेको छ (हेर्नुहोस् हरियो एरो)। हिस्टोग्राम सकारात्मक र क्रमशः लामा–लामा बन्दै गएका छन्। यो आधारमा बजारमा विस्तारै खरिदचाप परेको अनुमान लगाउन सकिन्छ।(हेर्नुहोस् कालो एरो)
बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।
बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले केही समय पहिला तल्लो ब्यान्डलाई छोएर माथिको यात्रा तय गरेको देखिन्छ तर मध्य ब्यान्डमा प्रतिरोधको सामना गरेको छ। यदि आगामी कारोबारमा हरियो मारुबुजु क्यान्डलसहित मध्य ब्यान्डभन्दा माथि मूल्य रेखा जान्छ भने बजारमा खरिदको कन्फर्मेसन मिलेको बुझिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ।
यसअन्तर्गत हालको बजारको आरएसआई बढ्दो गतिमा ४५को जोनमा रहेको छ। जसको अर्थ हुन्छ न्युट्रल जोन नजिक रहेको छ। अघिल्लोपटक यो विन्दु ७३ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई २७ मा आउँदा अघिल्लोपटक बजारमा बुलिस यात्रा तय भएको थियो।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २६२९
घटेमा सपोर्ट
निष्कर्ष
आज बजार बढे पनि भोलुम आउन सकेको छैन। प्राय लगानीकर्ता बढ्दो बजारमा मात्रै बाजार पस्ने भएकोले भोलुम आउन नसकेको हुन सक्छ। विभिन्न औजारलाई केलाउँदा एमएसीडीअन्तर्गत बजारमा प्रस्ट बुलिस क्रसओभर देखिन्छ। हिस्टोग्रामहरु विस्तारै लामा–लामा हुँदै गएका छन्। बोलिंगर ब्यान्डमा पनि बजारले तल्लो ब्यान्डलाई छोएर माथिको यात्रा तय गरेको देखिन्छ। यदि आगामी कारोबारमा मध्य ब्यान्डभन्दा माथि मूल्य रेखा जान्छ भने बजारमा खरिदाका लागि कन्फर्मेसन मिलेको बुझिन्छ। आरएसआई पनि बढ्दो गतिमा देखिन्छ। यो हिसाबले बजारलाई केलाउँदा बजारमा पछिल्लोपटकको २५०० नै हालका लाागि न्यून विन्दु भएको मान्न सकिन्छ। यदि बाजर अब आगामी कारोबारमा २६८५ भन्दा पनि माथि कारोबार भएमा डाउ थेउरीअन्तर्गत पनि बजारले अप टे«न्ड लिएको बलियो आधार मानिन्छ। यी सबै आधार केलाउँदा अब बजार विस्तारै बुलिस बन्दै गयको अनुमान लगाउन सकिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago