– अर्जुन तिमिल्सिना

काठमाण्डौ । निरन्तर घटेको सेयर बजार यो साताको सुरुआती दुई कारोबार दिनमा बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार झन्डै १८ अंकले बढेको बजारमा आज सोमबार १२.२७ अंकले बढोत्तरी आएको छ। 

आज बजारमा सूचकसँगै कारोबार पनि बढेकोले बजारमा केही गति आएको बुझ्न सकिन्छ। तर, बजारमा वास्तविक रुपमै गति आउनका लागि बजार २३०० विन्दुभन्दा माथि नै गएर कारोबार हुनुपर्ने देखिन्छ। 

क्यान्डल स्टिकका आधारमा 

क्यान्डल स्टिकको प्रयोग सबैभन्दा पहिला जापानबाट गरिएको हो। यो सेयर बजारमा सबैभन्दा पहिला बजारको अवस्थालाई बुझाउने इन्डिकेटर रुपमा मानिन्छ। 

यो साताको दैनिक चार्टअन्तर्गत आइतबारको क्यान्डलले ह्यम्मर आकृति बनाएको छ भने सोमबारको क्यान्डलले इन्भर्टेड क्यान्डल बनाएको छ। यी दुवै आकृति यदि बजारको न्यून विन्दुमा बन्छ भने बजारले बाटो परिवर्तन गर्न थालेको बुझिन्छ। (हेर्नुहोस् चारकोठाभित्र कालो एरोले देखाएको) 

इलिअट वेभको आधारमा 

सन् २०१९ को नोभेम्बरमा ११०० को सूचकदेखि ३२०० सम्मको बढोत्तरी र त्यहाँबाट  हालको २२०० सम्मको अवस्थालाई इलिअट वेभकोमा व्याख्या गर्ने हो भने बजारलाई इन्टरमिडियट डिग्रीको एउटा चक्र पूरा गर्दै गरेको देखिन्छ। जसअन्तर्गत बजारले १ देखि ५ सम्मको बढोत्तरी (११००–३२००) र  ए, बी र सीको हालको करेक्सन (३२०० देखि २२०० सम्म) आएर एउटा चक्र पूरा भएको हुनुपर्छ। यसलाई फिवोनासीमार्फत हेर्दा बजारले झन्डै ५० प्रतिशत करेक्सन भएको देखिन्छ। 

अब यदि बजारले यसैलाई न्यून विन्दु बनाएर फर्किन्छ भने बजार चक्र माइनर डिग्री अर्थात अबको ६ महिनादेखि १ वर्षको समयावधिमा वेभ १ मा २४०० सम्म, वेभ २ मा करेक्सन भएर २३०७, वेभ ३ मा पुनः बढोत्तरीका साथ २७४२ सम्म, वेभ ४ मा २३७५ सम्म र वेभ ५ मा बजार पुनः ३००० हजारसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  

यदि आगामी दिनमा बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २७३३ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २४२३ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २२०० को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवामा २००० को विन्दुसम्म आउन सक्ने देखिन्छ। 

एमएसीडी लाइन (आओरली बेसमा)

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। 

यो लाइनलाई आधार मान्ने हो भने केही मे ९ मा   एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम पोजेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय बजारमा बढोत्तरी हुन सक्ने देखिन्छ। 

बोलिंगर ब्यान्ड (आओरली बेसमा)

यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उतारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।

यो औजारअन्तर्गत बजारको अवस्थालाई आओरली बेसमा हेर्दा मध्य ब्यान्डलाई छोएर आज अन्तिमा आओरमा रातो क्यान्डल बनाएको छ। डेली बेसमा हेर्दा तल्लो ब्यान्डलाई छोएको छ र हरियो इन्भर्टेड मारुबुजु क्यान्डल बनेको छ। यसले बजारमा बढोत्तरी आउँदै गरेको संकेत गर्छ। 

आरएसआई (आओरली बेसमा) 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन छुट्याइन्छ। 

आओरली बेसमा हालको बजारको आरएसआई बढ्दो गतिमा ४३ मा रहेको छ। अघिल्लोपटक यो न्यून  विन्दु १८ को तहमा पुगेपछि सूचक उकालो लागेको थियो भने उच्चतम विन्दु ६२ को तहमा पुगेपछि बजार ओरालो लागेको थियो। यसलाई आधार मान्दा बजार अल्पकालका लागि बुलिस सिग्नल बन्दै गरेको देखिन्छ।

पिभट विश्लेषण (ओओरली बेसमा)

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २३२३
  • प्रतिरोध २– २४०८
  • प्रतिरोध ३– २४७५

पिभट प्वइन्ट : २२७४

घटेमा सपोर्ट 

  • सपोर्ट १– २१८९ 
  • सपोर्ट २– २१४०
  • सपोर्ट ३– २०५६

निष्कर्ष

यो साताका दुई कारोबारमा क्यान्डल स्टिकमा ह्याम्मर तथा इन्भर्टेड ह्याम्मर बनेको छ। यसले बजारमा अल्पलकालीन बाउन्स आएको देखिन्छ। यस्तो बढोत्तरी आगामी दिनमा यदि बजार २३०० को विन्दुभन्दा माथि जान्छ भने बजार बुलिस यात्रा तय गर्दै गरेको बुझिन्छ। लामो समय बुल आउनका लागि बोलिंगर ब्यान्डमा यदि बजार मध्य ब्यान्डभन्दा माथि नै गएर कारोबार हुनुपर्ने हुन्छ। हाल दैनिक चार्टमा त्यस्तो नभइसकेकोले बजारको बढाइ मजबुत भने नभइसकेको बुझिन्छ। बजारको समग्र रुपमा विश्लेषण गर्नुपर्दा बजारले अप ट्रेन्ड लिन कोसिस गरेको तर कन्फर्मेसन नमिलिसकेको अवस्था देखिन्छ। यदि अगामी कारोबारमा बजारमा भोलुमसहित २३०० माथि कारोबार हुन्छ भने बजार बुलिस यात्रा तय गर्ने मान्न सकिन्छ। अन्यथा बजार कमजोर नै देखिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।