काठमाण्डौ । यो साता सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ। आज कारोबार रकमसमेत पौने २ अर्ब रुपैयाँको हाराहारीमा सीमित बनेको छ।
आज नेप्से परिसूचक ४.७३ अंकको गिरावटका साथ १५६०.८३ को बिन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८७ अंकको गिरावटका साथ ३०९.६० को विन्दुमा खुम्चिएको छ।
लगानीकर्ताहरु पछिल्लो समय निकै सस्ता कम्पनीहरुमा आकर्षित भइरहेका देखिन्छन्। फाइनान्स र विकास बैंकका सेयरमूल्य तुलनात्मक रुपमा सस्तो हुँदा लगानीकर्ताहरु ती समूहमा आकर्षण बढाएको विश्लेषकहरु जिकिर गर्छन्।
उता हाइड्रोपावरमा चार्म आइरहँदा हाल सेयरको उच्च आपूर्ति र प्रफिट बुकका कारण हाइड्रोबाट फाइनान्स र विकास बैंकतर्फ लगानीकर्ताहरु मोडिएको विश्लेषकहरु बताउँछन्।
पछिल्लो एक महिनाको अवधिमा विस्तारै बजार सुधार हुँदै उकालो गति नै समाइरहेका बेला यो साताको सुरुआतदेखि नै परिसूचक स्थिर प्रायः छ। सेयर बजारसँग सम्बन्धित उत्साह जगाउने र लगानीकर्ताको मनोबलमा थप ऊर्जा प्रदान गर्ने गतिविधि नहुँदासमेत लगानीकर्ताहरु ‘पर्ख र हेर’ को रणनीतिमा छन्।
आज दिनभरिको सेयर कारोबारलाई नजिकबाट नियाल्दा विभिन्न कम्पनीका सेयरमा माग रहे पनि क्रेता र बिक्रेताबीच १–२ रुपैयाँमा बार्गेनिङ भइरहेको देखिन्छ। किन्ने चाहनेले समेत तल्लो मूल्यमा किन्न खोज्ने र बेच्न चाहनेले समेत अलिक माथिल्लो मूल्यमा बिक्री गर्ने प्रवृत्तिले समेत बजारमा तेजी नआएको जानकारहरु बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये २ वटामा मात्र हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।
यो दिन वित्त समूहमा ११.४१ अंक र विकास बैंक समूहमा २.२४ अंकको बढोत्तरी आएको छ।
आज सबैभन्दा बढी जीवन बीमा समूहमा ५२.९१ अंकको गिरावट आएको छ। निर्जीवन बीमा समूहमा ४९.८३ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह ४.०३ अंक, व्यापार समूह १४.६९ अंक, होटेल्स् समूह १९.९३ अंक, जलविद्युत् समूह २.९१ अंक, उत्पादन तथा प्रशोधन समूह १९.६४ अंक, अन्य समूह ०.१ अंक, लघुवित्त समूह ७.६१ अंक र म्युचुअल फन्ड ०.०५ अंकले घटेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९१ कम्पनीका ६९ लाख ९७ हजार ४२० कित्ता सेयर १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५२५ रुपैयाँमा कारोबार भएको छ। आज यी कम्पनीहरुका ३० हजार ५९६ पटक सेयर कारोबार हुँदा ४५ कम्पनीका सेयरमूल्यमात्रै उक्लिए भने १०६ कम्पनीका सेयरमूल्य ओरालो लाग्यो। १८ कम्पनीका सेयरमूल्य भने स्थिर रह्यो।
यो दिन हिमाल दोलखा हाइड्रोपावरको सबैभन्दा बढी ९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीले ६ करोड ४० लाख रुपैयाँबराबरको कारोबार गरेको यो दिन अरुण भ्याली हाइड्रोपावरको ५ करोड ९५ लाख रुपैयाँ, प्रभु बैंकको ५ करोड २७ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकको ४ करोड ८३ लाख रुपैयाँ, सिभिल बैंकको ४ करोड ५४ लाख रुपैयाँ, नेपाल बैंकको ४ करोड ३५ लाख रुपैयाँ, अपी पावरको ३ करोड ८२ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावरको ३ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउनेहरु
आज नेपाल फाइनान्सका सेयरधनीहरुले उच्च कमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
यसैगरी सेन्ट्रल फाइनान्सको सेयरमूल्य पनि आज ८ प्रतिशत बढीले बढेको छ।
आज पाँचथर पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago