काठमाण्डौ । साताको पहिलो दिन आज आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ। आज कारोबार रकम भने झन्डै ३ अर्ब रुपैयाँबराबर भएको छ।
आज नेप्से परिसूचक ४.७२ अंकको गिरावटका साथ १६४०.९६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४१ अंकले ओरालो लाग्दै ३२६.६३ को विन्दुमा खुम्चिएको छ।
गत सातादेखि बैंकिङ समूहमा लगानीकर्ताको चहलपहल देखिएको थियो। तर स्टान्डर्ड चार्टर्ड बैंकले अपेक्षाविपरीत लाभांश प्रस्ताव गरेपछि बैंकिङ समूहमा विकर्षण भएका लगानीकर्ता माइक्रोफाइनान्स (लघुवित्त) मा आकर्षित भएका देखिएको छ।
स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश प्रस्तावपछि लगानीकर्ता केही हच्किएका तर बैंकमा अझै पनि हंग्री इन्भेस्टरको उच्च खरिद चाप देखिएको विश्लेषकहरुको भनाइ छ। अब निकट भविष्यमा आउन लागेका अन्य बैंकका आकर्षक लाभांश प्रस्ताव र पहिलो त्रैमासिक प्रतिवेदनले बैंंक समूहमा नै लगानीकर्ताको झुकाव देखिने उनीहरुको तर्क छ।
साताको पहिलो दिन आज हाइड्रोपावर कम्पनीबाट प्रफिट बुक गरी निकै न्यून विन्दुतर्फ रहेको र राष्ट्र बैंकको नीतिले चार्मविहीन रहेको लघुवित्तमा एकाएक आकर्षण देखिन थालेको छ। आज अधिकांश लघुवित्त कम्पनीमा देखिएको चहलपहलका कारण सेयरमूल्यमा बढोत्तरी आइरहेको जानकार बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये ५ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी ७ वटामा रातो पोतिएको छ।
आज लघुवित्त समूहमा सबैभन्दा बढी २९.४१ अंकको बढोत्तरी भएको छ। व्यापार समूह २४.३७ अंकले उकालो लागेको यो दिन जलविद्युत् समूह १९.३१ अंक, निर्जीवन बीमा समूह १०.४५ अंक र अन्य समूह ५.३६ अंकले बढेका छन्।
यो दिन होटेल्स समूहमा सर्वाधिक १५.२९ अंकको गिरावट आएको छ। उत्पादन तथा प्रशोधन समूह १५.२१ अंकले ओरालो लागेको आज बैंकिङ समूह १४.५५ अंक, विकास बैंक समूह ६.९८ अंक, वित्त समूह २.१८ अंक, जीवन बीमा समूह ७.४५ अंक र म्युचुअल फन्ड समूह ०.०१ अंकले घटेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९६ कम्पनीका १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ६ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन शिवश्री हाइड्रोपावरले सर्वाधिक २३ करोड २७ लाख रुपैयाँ बढीको कारोबार गरेको छ। अपी पावरले १६ करोड ८७ लाख रुपैयाँबराबरको कारोबार गरेको आज प्राइम कमर्सियल बैंकको १५ करोड ६८ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १२ करोड २४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ७७ लाख रुपैयाँ, सानिमा बैंकको १० करोड रुपैयाँ, नेपाल बैंकको ९ करोड ३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ९ करोड ३ लाख रुपैयाँ, प्रभु बैंकको ८ करोड ४७ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको ७ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन ६ वटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। आज विशाल बजार कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी र नेपाल फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा शिवश्री हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट र नेरुडे लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लागेको छ।
यो दिन सानिमा इक्विटी फन्डका इकाइधनीहरुले धेरै गुमाएका छन्। यो फन्डको इकाइमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago