काठमाण्डौ । विगत ३ दिनदेखि नेप्से परिसूचकमा आएको गिरावट थामिँदै आज मंगलबार झिनो अंकले वृद्धि भएको छ। आज कारोबार रकम भने सवा २ अर्ब रुपैयाँमा खुम्चिएको छ।
आज नेप्से परिसूचक ५.४० अंकको वृद्धिका साथ १६४३.०३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१४ अंकको बढोत्तरीका साथ ३२६.६० को उचाइमा पुगेको छ।
बजारमा लघुवित्त समूहको चहलपहल बढ्दै जाँदा आज भने निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। लगानीकर्ताले सस्ता र अन्डर भ्यालु भएका धितोपत्रमा ध्यान दिइरहेकाले कारोबार संख्या र रकममा समेत गिरावट देखिएको विश्लेषकहरुको भनाइ छ। राजनीतिक उथलपुथल र सत्तासीन पार्टीबीचको अन्तरकलहले गर्दा पनि सेयर बजारमा उत्साह नआएको उनीहरुको तर्क छ।
पहिलो त्रैमास सकिएसँगै सूचीकृत कम्पनीका वित्तीय विवरण आएपछि मात्र आक्रमक रुपमा लगानी बढाउन ‘पर्ख र हेर’ को अवस्थामा रहेकाले नेप्से परिसूचकमा ठूलो उत्तारचढाव नदेखिएको लगानीकर्ताहरुको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूहमा सर्वाधिक १७६.८६ अंकको उछाल आएको छ। व्यापार समूह ५५.९२ अंकले उकालो लागेको आज होटेल्स् समूहमा १.९६ अंक, जलविद्युत् समूहमा ७.१४ अंक, वित्त समूहमा ५.४ अंक, उत्पादन तथा प्रशोधन समूहमा ५.९५ अंक, अन्य समूहमा १४.८ अंक, लघुवित्त समूहमा ६.८३ अंक, जीवन बीमा समूहमा १४ अंक र म्युचुअल फन्ड समूहमा ०.२७ अंकको बढोत्तरी भएको छ।
आज विकास बैंक समूह १६.२१ अंक र बैंकिङ समूह २.१७ अंकले ओरालो लागेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १९८ कम्पनीका ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ रुपैयाँमा कारोबार भएको छ।
यो दिन एनटीसीको सर्वाधिक १० करोड रुपैयाँ बढीको कारोबार भएको छ।
एनआईसी एसिया बैंकको ८ करोड ३४ लाख रुपैयाँको कारोबार भएको आज प्राइम कमर्सियल बैंकको ८ करोड ४ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ६ करोड ३७ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको ५ करोड ९७ लाख रुपैयाँ, डेप्रोक्स लघुवित्तको ५ करोड १० लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको ४ करोड ८९ लाख रुपैयाँ, अपी पावरको ४ करोड ८१ लाख रुपैयाँ, प्रभु बैंकको ४ करोड ८० लाख रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सको ४ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। विशाल बजार कम्पनी, समिट लघुवित्त र पाँचथर पावर कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन शिवश्री हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीले उछाल आएको छ।
आज महालक्ष्मी विकास बैंक र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा सबैभन्दा बढी ३ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago