काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन आएको छ ।
लगातार बढिरहेको बजारमा १५.५७ अंकको करेक्सन आएको हो । करेक्सनपछि नेप्से परिसूचक घटेर २०५५.४५ को विन्दूमा सीमित हुन पुगेको छ ।
लामो समयदेखि लगातार बढिरहेको बजारमा सामान्य करेक्सन मात्र आएको थियो । बजारको दिगो बढोत्तरी र स्थायी किसिमको बुलमा करेक्सन हुँदै अगाडि बढेको राम्रो मानिन्छ । बजार करेक्सनबिना नै लगातार अगाडि बढिरहँदा दुर्घटना हुने जोखिम समेत बढिरहेको बेला आज दोहोरो अंकको करेक्सन भएको हो ।
आजको करेक्सनलाई बजार विश्लेषकहरुले सामान्य र स्वभाविक भनेका छन् । १६०० बाट तीव्र गति बढ्न सुरु गरेको बजार २१०० विन्दू नजिक पुगेपछि ६० ७० अंकसम्मको करेक्सनलाई स्वभाविक मान्नुपर्ने कतिपयको तर्क छ । यसको अर्थ आगामी साता पनि बजारमा करेक्सन आएमा त्यसलाई अस्वभाविक मान्न नहुने उनीहरु दाबी गर्छन्।
परिसूचकमा गिरावटको बाबजूद कारोबार रकम भने ८ अर्ब रुपैयाँ भन्दा बढी भएको छ ।
लगातार नेप्से उकालो लाग्दै आज २१ सय विन्दू पार गरे पनि दिनभरिको निकै उत्तारचढावपूर्ण अवस्थाबाट गुज्रेको नेप्से सम्हालिन खोज्दाखोज्दै दोहोरो अंकको गिरावट आयो ।
निरन्तर नेप्सेको यात्रामा आज आएको गिरावटमा कतिपय लगानीकर्ताले प्रफिट बुक गरे भने आज भएको बजारको करेक्सनलाई नवप्रवेशीले सेयर खरिदको सुवर्ण अवसर ठहर गर्दै आक्रमक रुपमा सेयर खरिद गरेको देखिन्छ । इन्ट्राडे करेक्सन र आजको बजारको करेक्सनले आगामी दिनमा बजार थप स्थायी हुने र परिसूचकको वृद्धि स्वभाविक हुने विश्लेषकहरुको दाबी छ ।
वोमी र छिमेकी लघुवित्तले क्रमशः ३० र २९ प्रतिशत लाभांश वितरण गरेपछि माइक्रो सेक्टर अब केही चलायमान हुने लगानीकर्ताको आशा छ ।
लघुवित्त कम्पनीहरुले आकर्षक लाभांश वितरण गर्ने आशामा पछिल्लो समयमा लगानीकर्ताहरु लघुवित्तमा झुुम्मिए ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी १० वटामा रातो पोतिएको छ।
आज लघुवित्त समूहमा सबैभन्दा धेरै ३०.०८ अंकको बढोत्तरी भएको छ। जलविद्युत् समूह पनि आज १०.३६ अंकले उकालो लागेको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक २५८.२६ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १६६.४१ अंकले घटेको आज बैंकिङ समूहमा ८.७३ अंक, व्यापार समूहमा १६०.४२ अंक, होटेल्स् समूहमा ८.३५ अंक, विकास बैंक समूहमा २०.३५ अंक, वित्त समूहमा ६.७३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७२.९६ अंक, अन्य समूहमा १९.३१ अंक र म्युचुअल फन्ड समूहमा ०.०५ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०० कम्पनीका १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँमा कारोबार भएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनी एक्लैको १ अर्ब ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ। लगातार उछालको गतिमा बढिरहेको यो कम्पनीको सेयरमूल्य बिहीबार भने २३ रुपैयाँले घट्यो । नेपाल टेलिकमको ४२ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ३० करोड ३ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २६ करोड ७ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको २३ करोड ८२ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको २२ करोड ३० लाख रुपैयाँ, नेपाल बैंकको १८ करोड ७० लाख रुपैयाँ, नबिल बैंकको १८ करोड २४ लाख रुपैयाँ, छिमेक लघुवित्तको १७ करोड १० लाख रुपैयाँ र नेको इन्सुरेन्सको १४ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरमूल्यमा आज १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। यस्तै नेपाल सेवा लघुवित्तका सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भएको छ।
यो दिन विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। यी दुई कम्पनीको सेयरमूल्य पछिल्लो समय चलखेल गरी बढाइएको आशंका गरिएको थियो । यी दुईसहित चलखेल गरी सेयरमूल्य बढाइएका अन्य कम्पनीको विषयमा समेत धितोपत्र बोर्डले छानबिन थालिसकेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19