काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि बजार दोहोरो अंकले बढेको छ।
आज बजार १५.७२ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २६७४.४६ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो।
यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३४ अंकले बढेर ४७६.१८ को उचाइमा पुगेको छ। आज झन्डै साढे ७ अर्ब रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
बजार जानकार प्रेम ओली आजको बजार बढाइलाई सामान्य रुपमा लिन्छन्। ‘ठूला लगानीकर्ताले ऋणको ब्याज तिर्नुपर्ने बेला भएकोले बजार अझै सोचेजस्तो बढेन’, ओलीले भने, ‘केही दिनमै कारोबार रकमले रेकर्ड तोड्न सक्छ।’
अब तेस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक भएपछि बैंकहरुमा पनि लगानीकर्ताहरुको आकर्षण हुन सक्ने ओलीको भनाइ छ। ‘अहिले सेयर बजारमा विद्यार्थीदेखि गृहिणीसम्म आएका छन्’, उनले भने, ‘बजारको आकार ह्वात्तै बढेको छ, यो हिसाबले बजार अझै माथि नै जाने सम्भावना प्रबल छ।’
अर्कोतर्फ यही सरकारको स्थायित्व देखिएकोले पनि बजारमा सकारात्मक प्रभाव परिरहेको ओलीको तर्क छ।
अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे आधारभूत तथा प्राविधिक हिसाबले बजार सकारात्मक नै रहेको बताउँछन्। ‘प्राविधिक हिसाबले भन्नुपर्दा २६६० को मनोवैज्ञानिक प्रतिरोध तोडेकोले पनि अब बजार माथि जानेमा कुनै शंका छैन’, उनले भने, ‘बजार सानोठूलो करेक्सन भोग्दै भविष्यमा लगभग माथि नै जाने देखिन्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन पर्यटन तथा होटेल समूह सर्वाधिक २०५.७९ अंकले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १८३.९१ अंकले बढेको आज विकास बैंक समूहमा २९.९७ अंक, जलविद्युत समूहमा ११४.०५ अंक, लघुवित्त समूहमा ६४.१९ अंक, म्युचुअल फन्ड समूहमा ०.०२ अंक र लगानी समूहमा २.७२ अंकको बढोत्तरी भएको छ।
यो दिन व्यापार समूह सबैभन्दा धेरै ४३२.२५ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २८७.७६ अंकले घटेको आज जीवन बीमा समूहमा १९१.४२ अंक, बैंकिङ समूहमा ०.५९ अंक, वित्त समूहमा ३.३६ अंक र अन्य समूहमा ३.९ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१३ कम्पनीका १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३६ रुपैयाँमा किनबेच भएको छ।
यो दिन निफ्राको सर्वाधिक ३९ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ। चिलिमे हाइड्रोपावरको ३१ करोड १० लाख रुपैयाँबराबरको कारोबार भएको आज माथिल्लो तामाकोशीको २९ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २२ करोड १८ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सको २१ करोड २८ लाख रुपैयाँ, नेपाल बैंकको १७ करोड ६८ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको १६ करोड ६१ लाख रुपैयाँ, बुटवल पावरको १६ करोड २ लाख रुपैयाँ, नेपाल टेलिकमको १५ करोड २९ लाख रुपैयाँ र रसुवागढी हाइड्रोपावरको १४ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ११ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। चिलिमे हाइड्रोपावर, युनिभर्सल पावर, युनाइटेड इदी मर्दी, चन्द्रागिरी हिल्स, वमी लघुवित्त, एनआईसी एसिया लघुवित्त, महिला लघुवित्त, सान्जेन लघुवित्त, शिवश्री हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन रसुवागढी हाइड्रोपावर, बुटवल पावर र जोशी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
आज साल्ट ट्रेडिङका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। यसैगरी सानिमा जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago