काठमाण्डौ । धितोपत्र कारोबार साताको अन्तिम दिन बिहीबार बजार सामान्य अंकले उकालो लागेको छ।

हिजो सामान्य करेक्सन व्यहोरेको बजार आज २.७४ अंकले उकालो लागेर बन्द भएको हो। योसँगै नेप्से परिसूचक २६७४.३५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२८ अंकले घटेर ४७६.५१ को विन्दुमा झरेको छ। कारोबार रकम घटेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ।

हिमालयन जनरल इन्स्योरेन्सकी सञ्चालक तथा लक्ष्मी दर्शन को–अपरेटिभकी उपाध्यक्ष नुराकुमारी शर्मा अफसिजनमा पनि बजार बढ्नु सकारात्मक रहेको बताउँछिन्। ‘बैंक तथा वित्तीय संस्थाहरु पनि विस्तार बढिरहेका छन्’, उनले भनिन्, ‘बजारको लय हेर्दा ३५०० को विन्दु पुग्ने सम्भावना देखिन्छ।’

शर्मा अहिलेको बजारमा लगानीकर्तालाई ट्रेडिङ गर्ने कम्पनी र लगानी गर्ने कम्पनी छुट्याएर लगानी गर्न सुझाव दिन्छिन्। ‘कम्पनीको अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ’, उनले भनिन्, ‘ट्रेडिङ गर्दा आफूले कति प्रतिशतसम्म नाफा बुक गर्ने हो, त्यस आधारमा सेयर कारोबार गर्नुपर्छ।’

सेयर बजारमा राम्रोसँग चल्न जाने अमेरिका, लन्डन जानुनपर्ने शर्माको भनाइ छ। ‘यही बजारबाट प्रतिफल निकाल्न सकिन्छ’, उनले भनिन्।  

बजार जानकार रघुनाथ अधिकारी सामान्य र सही ढंगले अगाडि बढिरहेको बताउँछन्। ‘बजार अहिले सोचेजस्तो माथि जान नसक्नुमा ब्याज तिर्नुपर्ने बेला भएकोले लगानीकर्ताहरुलाई दबाब परेको हुन सक्छ’, उनले भने, ‘अब केही दिनमै बजारमा उछाल आउने सम्भावना छ।’

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। आज लघुवित्त समूह सर्वाधिक १०६.१३ अंकले उकालो लागेको छ। जीवन बीमा समूह ९१.९८ अंकले बढेको आज बैंकिङ समूहमा १.८९ अंक, होटेल तथा पर्यटन समूहमा २९.७९ अंक, विकास बैंक समूहमा २०.६२ अंक, वित्त समूहमा ३९.४३ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंकको बढोत्तरी भएको छ।

आज निर्जीवन बीमा समूह सर्वाधिक ६२.६३ अंकले ओरालो लागेको छ। व्यापार समूह ३२.०१ अंकले घटेको यो दिन जलविद्युत् समूहमा २३.३३ अंक, उत्पादन तथा प्रशोधन समूहमा २८.७७ अंक, अन्य समूहमा २२.५१ अंक र लगानी समूहमा ०.४३ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २०७ कम्पनीका १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६८० रुपैयाँमा कारोबार भएका छन्। 

आज माथिल्लो तामाकोशीको सार्वधिक ३७ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको २५ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेपाल बैंकको २४ करोड ७ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सको २२ करोड ४४ लाख रुपैयाँ, नबिल बैंकको १८ करोड १७ लाख रुपैयाँ, नेपाल टेलिकमको १३ करोड ७१ लाख रुपैयाँ, फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्सको १० करोड ७९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १० करोड ५४ लाख रुपैयाँ, ज्योति विकास बैंकको १० करोड २० लाख रुपैयाँ र रिलायन्स फाइनान्सको ९ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। एनआईसी एसिया लघुवित्त, ग्रीनलाइफ हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, रिलायन्स फाइनान्स र ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

यो दिन युनिभर्सल पावर र रसुवागढी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्य ४ प्रतिशत बढीले ओरालो लागेको छ।