काठमाण्डौ । निकै उतारचढावबीच आज बुधबार बजार झिनो अंकले उकालो लागेको छ।
बजार ०.५६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६७३.८८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ अंकले बढेर ४७८.३८ को विन्दुमा पुगेको छ। आज कारोबार रकम सवा ५ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे कोरोना महामारीबीच बजारको चाल सकारात्मक नै रहेको बताउँछन्। ‘यस्तो बेला पनि ५–६ अर्ब बढीको कारोबार हुनु भनेको राम्रै हो’, उनले भने, ‘यतिबेला बजारमा सबै लगानीकर्ता सक्रिय छैनन्, केहीले अनलाइन प्रणाली नलिएका कारण कारोबार गर्न पाएका छैनन्, केही बिरामी भएर कारोबार सक्रिय हुन नसकेको देखिन्छ। त्यसैले जतिले कारोबार गरिरहेका छन्, त्यो हिसाबले सेयर किनबेच सन्तोषजनक नै छ।’
बजारमा राजनीतिको प्रभाव खासै नपर्ने घिमिरे बताउँछन्। ‘राजनीतिभन्दा पनि कोरोनाले बजारमा केही प्रभाव पर्यो होला’, उनले भने, ‘लगानीकर्ताहरुले बैंकबाट लोन लिएर सहज रुपमा कारोबार गर्न नपाएको देखिन्छ।’
बजारमा अहिले खरिदको अवसर रहेकोले किन्न सके फाइदै हुने घिमिरे बताउँछन्। ‘अब त लाभांश खाने बेला पनि आयो’, उनले भने, ‘त्यही भएर राम्रा कम्पनीका सेयर किनेर २–४ महिना होल्ड गर्नसके राम्रै फाइदा हुन्छ।’
सक्रिय लगानीकर्ता निमानन्द कँडलले लगानीकर्ताहरु अहिले पर्ख र हेरको रणनीतिमा रहेका कारण बजारमा तीव्र उतारचढाव नआएको बताउँछन्। ‘त्यसैले लगानीकर्ताहरु घाटा खाएर सेयर बेच्ने सोचमा छैनन्, बरु होल्ड गरेरै बसेका छन्’, उनले भने।
कोरोनाभन्दा पनि कोरोनाबाट उत्पन्न असहज परिस्थितिले पनि बजार केही प्रभाव पक्कै परेको कँडेल बताउँछन्। उनले भने, ‘तर आत्तिहाल्नुपर्ने अवस्था छैन, बजार विस्तारै माथि नै जान्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने बाँकी ६ वटामा रातो पोतिएको छ।
यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १००.६६ अंकले उकालो लागेको छ। जलविद्युत् समूह ३१.७९ अंकले बढेको आज विकास बैंक समूहमा ३.८१ अंक, वित्त समूहमा १५ अंक, निर्जीवन बीमा समूहमा ३१.६ अंक, म्युचुअल फन्ड समूहमा ०.०६ अंक र लगानी समूहमा ०.७६ अंकको बढोत्तरी भएको छ।
आज जीवन बीमा समूह सर्वाधिक ६६.८६ अंकले ओरालो लागेको छ। व्यापार समूह ४१.२ अंकले घटेको यो दिन बैंकिङ समूहमा ३.४२ अंक, होटेल तथा पर्यटन समूहमा ६.९६ अंक, अन्य समूहमा १९.२१ अंक र लघुवित्त समूहमा १७.८ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१५ कम्पनीका १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३५ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २६ करोड ९५ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको १४ करोड ८४ लाख रुपैयाँ, शिवम सिमेन्टको १४ करोड ५६ लाख रुपैयाँ, एनसीसी बैंकको १३ करोड ९४ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १३ करोड ६३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १३ करोड ४९ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १२ करोड २४ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ९४ लाख रुपैयाँ र हिमालयन पावर पाटर्नरको १० करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १२ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।
नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (तराई) र आँखुखोला जविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा विशाल बजार कम्पनी, रुरु जलविद्युत, समता घरेलु लघुवित्त, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, दिव्यश्वरी हाइड्रोपावर, युनिलिभर नेपाल र जोशी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
आर साल्ट ट्रेडिङ र सानिमा जनरल इन्स्योरेन्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा २ प्रतिशत बढीको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19