काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा झिनो करेक्सन आएको छ। 

बजार आज ०.२१ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २९०६.७० को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले घटेर ५२०.६३ को विन्दुमा झरेको छ। आज कारोबार पौने १६ अर्ब रुपैयाँभन्दा बढी भएको छ। 

नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल आज बजारमा झिनो करेक्सन आए पनि महौल सबैतिर सकारात्मक नै रहेको बताउँछन्। ‘आज बैंक र लघुवित्तमा करेक्सन आउँदा बजारमा झिनो गिरावट आएको हो’, उनले भने, ‘बजार सजगताका साथ अगाडि बढेको छ, परिपक्व पनि हुँदै गएको छ।’

अहिले बजारमा देशविदेशका साथै संस्थागत लगानीकर्ताहरु सक्रिय रुपमा कारोबारमा लागेको ढकाल बताउँछन्। ‘अहिलेको अवस्थामा सेयर बजारमा जस्तो सहज कारोबार कतै छैन, त्यसैले विद्यार्थीदेखि ठूलठूला उद्योगीव्यापारीसमेत सेयर बजारमा छिरेका छन्’, उनले भने, ‘थोरै पैसाले पनि कमाउन सकिने अनि घरमै बसेर पनि कारोबार गर्न सकिने भएकोले सेयर बजारमा आकर्षण बढेको छ।’ 

बजारको भविष्य दिनानुदिन राम्रो बन्दै गएको ढकाल बताउँछन्। ‘बजारमा पैसैपैसा छ, त्यसैले आफ्नो क्षमता र अध्ययन अनि विश्लेषण गरेर लगानी गर्नुपर्छ’, उनले भने। 

सक्रिय लगानीकर्ता विदूर भट्टराई आजको करेक्सनलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘बुलिस बजारमा सानातिना करेक्सन आउँछन् र आउनैपर्छ’, उनले भने, ‘यसले बजारलाई थप मजबुत बनाउँछ।’

बजारमा ठूलो करेक्सन पनि तत्काल आउने सम्भावना नरहेको पनि भट्टराईको भनाइ छ। ‘अन्य क्षेत्र सुनसान छन्, सेयर बजारमात्र खुला छ’, उनले भने, ‘ठूलो संख्यामा लगानीकर्ता बजारमा प्रवेश गरेका छन्, सेयर किनबेच पनि १५ अर्ब रुपैयाँभन्दा बढी नै हुन थालेको छ। त्यसैले बजार थप माथि जाने नै हो।’

अहिले लगानीकर्ताहरु सेक्टरवाइज लगानी गरिरहेकाले पनि कारोबार रकम ह्वात्तै बढेको भट्टराईको तर्क छ। ‘बजार बढ्नलाई कारोबार रकमले साथ दिएको देखिन्छ’, उनले भने, ‘अहिलेको अवस्थामा पैसा बोकेर बस्नुभन्दा पनि राम्रा र प्रतिफल दिने कम्पनीमा लगानी गर्दा उचित हुन्छ।’

लगानीकर्ताहरुलाई सोचविचार गरेर लगानी गर्न पनि उनले सुझाव दिएका छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक २६०.०६ अंकले उकालो लागेको छ। वित्त समूह १६२.९४ अंकले बढेको आज जलविद्युत समूहमा ९१.६५ अंक, निर्जीवन बीमा समूहमा ३१.६५ अंक, अन्य समूहमा ५.१ अंक, जीवन बीमा समूहमा १६.०४ अंक र म्युचुअल फन्ड समूहमा ०.१ अंकको बढोत्तरी भएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ९२.२७ अंकले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ४२.४९ अंकले घटेको आज बैंकिङ समूहमा ३१.७४ अंक, उत्पादन तथा प्रशोधन समूहमा २१.२ अंक, लघुवित्त समूहमा २२.४३ अंक र लगानी समूहमा ०.१ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६२ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको ४६ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोको ४३ करोड ५६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ४३ करोड २४ लाख रुपैयाँ, कुमारी बैंकको ३४ करोड ४१ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ३३ करोड ३४ लाख रुपैयाँ, ज्योति विकास बैंकको ३१ करोड ३५ लाख रुपैयाँ, एनसीसी बैंकको ३१ करोड १७ लाख रुपैयाँ, मेगा बैंकको ३० करोड ८१ लाख रुपैयाँ र कामना सेवा विकास बैंकको २८ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज १६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा कामना सेवा विकास बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, रिडी हाइड्रोपावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, नेसनल हाइड्रोपावर, युनिभर्सल पावर र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज लक्ष्मी बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।