काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजारमा झिनो करेक्सन आएको छ।
आज बजारमा १.८० अंकको झिनो करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २९४४.७८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने २.५९ अंकले बढेर ५२७.८७ को विन्दुमा उक्लिएको छ।
आज बजारमा १६ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट बढ्दो बजारमा करेक्सन आउनुलाई स्वभाविक र प्राकृतिक रहेको बताउँछन्। ‘बजारले छिटै ३००० विन्दु चुम्छ भन्ने लगानीकर्ताको मनोविज्ञानमा छ’, उनले भने, ‘त्यसैले बजार केही दिनमै उकालो लाग्न सक्छ।’
लगानीकर्ताहरुले बैंकिङ सेक्टरबाहेक अन्य सेक्टरबाट नाफा कमाइरहेको बिष्टले बताए। ‘त्यही कारण लगानीकर्ताहरु अहिले राम्रा विकास बैंक, जलविद्युत कम्पनी र वित्त कम्पनीहरुमा झुम्मिएको देखिन्छ’, उनले भने, ‘केही कम्पनीहरुको हकप्रद आउन सक्ने र बोनस पनि राम्रै दिने सम्भावना देखेर पनि लगानीकर्ताहरुले त्यस्ता कम्पनीका सेयर धमाधम सेयर उठाइरहेको देखिन्छ।’
अहिलेको बजारमा सेक्टरवाइज बुल चलेको बिष्टको भनाइ छ। कम्पनीका आधारभूत पक्ष र लाभांश इतिहास हरेर दीर्घकालन लगानी गर्दा फाइदा हुने उनको सुझाव छ।
सक्रिय लगानीकर्ता रोहन कार्की बजारमा अहिले लगानीकर्ताहरुले प्राविधिक पक्षभन्दा आधारभूत पक्षलाई हेरेर लगानी गरिरहेको बताउँछन्। ‘लगानीकर्ताहरु नाफा बुक गर्दा हिजो र आज बजारमा करेक्सन आएको हो’, उनले भने, ‘लगानीकर्ताको मनोबल उच्च बन्दै गएकोले बजार फेरि माथि नै जान्छ।’
बुल मार्केटमा सानोतिनो करेक्सन आउनु स्वभाविकै रहेको कार्की बताउँछन्। ‘यो बेला कमजोर कम्पनीहरुको सेयरभाउ पनि उकालो लागेको हुन्छ’, उनले भने, ‘बजारमा सबैजना कमाउने उद्देश्यले नै आएका छन् तर लगानी गर्दा सोचविचार गर्नु अतिआवश्यक हुन्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको भने ७ वटामा रातो पोतिएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक १२०.६ अंकले उकालो लागेको छ। जलविद्युत समूह ८८.६५ अंकले बढेको आज वित्त समूहमा ६०.९५ अंक, लघुवित्त समूहमा ७.३४ अंक, म्युचुअल फन्ड समूहमा ०.१२ अंक र लगानी समूहमा १.१२ अंकको बढोत्तरी भएको छ।
आज जीवन बीमा समूह सर्वाधिक २७३.६८ ले ओरालो लागेको छ। व्यापार समूह ५७.४२ अंकले घटेको यो दिन बैंकिङ समूहमा १७.७८ अंक, होटेल तथा पर्यटन समूहमा १३.२७ अंक, निर्जीवन बीमा समूहमा ४५.०९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३८.६७ अंक र अन्य समूहमा ६ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता सेयर १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३५ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन एचआईडीसीएलको सर्वाधिक ९९ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको आज लुम्बिनी विकास बैंकको ४५ करोड ९३ लाख रुपैयाँ, अपी पावरको ४४ करोड ५८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ३८ करोड ९६ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ३४ करोड ४२ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ३३ करोड ५९ लाख रुपैयाँ, ज्योति विकास बैंकको २९ करोड ३२ लाख रुपैयाँ, अरुण काबेली पावरको २९ करोड १७ लाख रुपैयाँ र एनसीसी बैंकको २८ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। पाँचथर पावर कम्पनीको सेयरमूल्यमा १० प्रतिशत तथा लबर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, छ्याङ्दी हाइड्रोपावर, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स, सीईडीबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको हो।
यो दिन ग्लोबल आईएमई लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज गोर्खाज फाइनान्सका सेयरधनीहरले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19