काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ।

आज बजार ५.०६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८७५.४५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.१४ अंकले उकालो लागेर ५३३.५५ को विन्दुमा उक्लिएको छ। कारोबार रकम पनि बढेर पौने ८ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामै रहेका कारण कारोबार सोचेअनुरुप बढ्न नसकेको बताउँछन्। ‘यद्यपि हिजोको तुलनामा कारोबार बढेको छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ’, उनले भने। 

राजनीतिक अन्यौलता र मौद्रिक नीतिको प्रतिक्षाका कारण लगानीकर्ताहरुको सक्रियता घट्दा बजारको मुभ सुस्त हुन पुगेको ढकालको बुझाइ छ। ‘केही दिनको करेक्सनपछि बजार पुनः लयमा फर्किएको छ तर सुस्तता देखिएको छ’, उनले भने, ‘केही दिन अझै बजार सुस्त गतिमा तलमाथि भइरहन सक्छ।’

मौद्रिक नीति बजारअनुकूल आउने सम्भावना रहेकोले फेरि बजारले लय समात्ने ढकाल बताउँछन्। ‘ब्याजदर तत्काल बढ्ने सम्भावना छैन, सामान्य बढे पनि सेयर बजारलाई फरक पार्दैन’, उनले भने, ‘त्यसैले सेयर बजारमा ढुक्क भएर कारोबार गर्दा हुन्छ। सोचविचार गरेर राम्रा र बलिया कम्पनीमा लगानी गर्दा नै उपयुक्त हुन्छ।’

सक्रिय लगानीकर्ता निमानन्द कँडेल बजार लयमा फर्किनेमा ढुक्क छन्। ‘असार भनेको आर्थिक वर्षको अन्तिम महिना हो, यति बेला सेयर बजारमा प्रेसर पर्छ’, उनले भने, ‘त्यसैले बजारमा केही दिन करेक्सन आयो, अहिले बजार विस्तारै लयमा फर्किने कोसिस गरिरहेको छ। यो अवस्था असारको तेस्रो सातासम्म कायमै रहन्छ।’

सामूहिक लगानी कोष र संस्थागत लगानीकर्ताले धमाधम सेयर बेचेका कारण बजारमा दबाब सिर्जना भएको कँडेलको भनाइ छ। ‘अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा पनि बजार चाल सुस्त बनेको देखिन्छ’, उनले भने, ‘अब चौथो त्रैमासको रिपोर्टहरु सार्वजनिक हुन थालेपछि बजार पुनः माथि नै जान्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक २.२२ प्रतिशतले उकालो लागेको छ। लगानी समूह २.१४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.३३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५७ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.१२ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन वित्त समूहमा २.५९ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह २.२३ प्रतिशतले घटेको आज विकास बैंक समूहमा १.६८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३६ प्रतिशत, अन्य समूहमा ०.१८ प्रतिशत र व्यापार समूहमा ०.७३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका १ करोड ९२ लाख ८३ हजार ६५ कित्ता सेयर ७ अर्ब ७२ करोड ५५ लाख ९४ हजार ९६५.५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक ६६ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल इन्स्योरेन्सको ५२ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको आज राधी विद्युतको ५२ करोड ७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५० करोड २५ लाख रुपैयाँ, सेञ्चुरी कमर्सियल बैंकको २८ करोड ६१ लाख रुपैयाँ, एचआईडीसीएलको २६ करोड १६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ९ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १७ करोड ५० लाख रुपैयाँ, प्रभु बैंकको ११ करोड ८६ लाख रुपैयाँ र अपी पावरको ९ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सबैको लघुवित्त र सिभिल लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यी दुवै लघुवित्तको सेयरमूल्यमा ८ प्रतिशत बढीको बढोत्तरी भएको छ।

यो दिन बेस्ट फाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।