काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार पनि बजार झिनो अंकले ओरालो लागेको छ।

बजार आज ४.१३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८२३.८८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८८ अंकले घटेर ५२२.८३ को विन्दुमा ओर्लेको छ।

आज कारोबार रकम पनि घटेर पौने ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट आजको बजार परिदृश्यले करेक्सन लगभग सकिन लागेको संकेत गरेको बताउँछन्। ‘केही समय बजार साइडवेजमा जान सक्छ’, बिष्ट भन्छन्, ‘यो महिनाको तेस्रो सातासम्म यस्तै हुन सक्छ।’

संस्थागत र ठूला लगानीकर्ताले धमाधम सेयर बेचेकै कारण बजारमा करेक्सन आएको बिष्टको तर्क छ। ‘अल्पकालीन लगानीकर्ताहरुले नाफा बुक गर्दा पनि बजार तल ओर्लेको हो’, उनले भने। 

नयाँ आर्थिक वर्षबाट बजारमा सुधार हुन सक्ने बिष्टको भनाइ छ। 

बजार जानकार मेघनाथ निरौला सुरुआती चरणमा भारी गिरावट आएको बजार अन्तिम अवस्थामा झिनो अंकले घट्नलाई सकारात्मक मान्नुपर्ने बताउँछन्। ‘यसले बजार छिटै लयमा फर्किने संकेत गरेको छ’, उनले भने।

अहिले ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको र माद्रिक नीतिको प्रतीक्षामा पनि रहेकोले बजार केही दिन साइडवेजमा रहन सक्ने निरौलाको भनाइ छ। ‘अहिले बजारको घटाइलाई सामान्य करेक्सनकै रुपमा लिनुपर्छ’, उनले भने, ‘यो बेला बजारमा लगानीको अवसर सिर्जना भएको छ। राम्रा र बलिया कम्पनीका उठाएर राख्ने मौका पनि हो।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

यो दिन वित्त समूह ५.८० प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ३.४० प्रतिशतले बढेको आज जलविद्युत समूहमा ०.१७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०१ प्रतिशत र अन्य समूहमा ०.८६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.४५ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह १.२० अंकले घटेको आज बैंकिङ समूहमा ०.२१ प्रतिशत, जीवन बीमा समूहमा ०.६५ प्रतिशत, लघुवित्त समूहमा ०.९३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६२ प्रतिशत र व्यापार समूहमा ०.७० प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृत २२० कम्पनीका १ करोड ६२ लाख ४८ हजार १०० कित्ता सेयर ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५.४९ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल इन्स्योरेन्सको सर्वाधिक ३० करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनएलजी इन्स्योरेन्सको २१ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ७६ लाख रुपैयाँ, ज्योति विकास बैंकको १३ करोड ८१ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १२ करोड ५० लाख रुपैयाँ, निफ्राको ११ करोड ९६ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ११ करोड १७ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १० करोड ५२ लाख रुपैयाँ र एचआईडीसीएलको ९ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। पोखरा फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टीपर्पस फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

आज एचआईडीसीएलका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।