काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि बजार दोहोरो अंकले ओरालो लागेको छ।
आज बजार ११.७८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८२२.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ अंकले घट्दै ५२८.४२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे ४ अर्ब रुपैयाँ बढीमा सीमित बनेको छ।
सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला बजार घट्दा कारोबार पनि घट्नु स्वभाविक नै रहेको बताउँछन्। ‘यसले अल्पकालीन लगानीकर्ताहरु सेयर बेचेर बाहिरिएकोजस्तो देखिन्छ’, उनले भने, ‘ठूला र स्मार्ट लगानीकर्ताहरु पर्ख र हेरकै रणनीतिमा छन्।’
बजारमा अहिले लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतीक्षामा बसेका हुन सक्ने बास्तोला बताउँछन्। ‘त्यसैले केही दिन बजार अझै साइडवेजमै रहने देखिन्छ’, उनले भने, ‘मौद्रिक नीति सेयर बजारअनुकूल नै आउने भएकोले बजार पुनः लय फर्किनेछ।’
अब रिटर्नका आधारमा बजार बढ्ने पनि बास्तोलाको भनाइ छ। ‘अझै केही दिन करेक्सन भएपछि मात्रै बजार माथि जाने सम्भावना छ’, उनले भने।
एसियन सेक्युरिटिज बुटवल शाखाका अधिकारी दीनानाथ शर्मा घट्दो बजारमा कारोबार पनि घटेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्। ‘अहिले बजारमा लगानीकर्ताहरु सेयर होल्ड गरेर बसेका छन्, उनीहरुले घटेर बेच्न नचाहेकोजस्तो देखिन्छ’, उनले भने, ‘केही लगानीकर्ता भने मौद्रिक नीति आएपछि मात्रै बजार प्रवेश गर्ने तयारीमा रहेको देखिन्छ।’
मौद्रिक नीति सकारात्मक नै आउने र बजार पनि बुलिस ट्रेन्डमै रहेकोले पुनः लयमा फर्किनेमा दुईमत नरहेको शर्मा बताउँछन्। ‘सूचीकृत कम्पनीहरुका चौथो त्रैमासको रिपोर्ट आएपछि बजार पुनः सकारात्मक बन्नेछ’, उनले भने।
सेक्टरवाइज बढिरहेको बेला बैंकिङ सेक्टर बढ्नै बाँकी रहेकोले बजार तल जाने सम्भावना नरहेको शर्मा बताउँछन्। ‘बैंकिङ सेक्टर चलेपछि बजार बढ्ने निश्चित’, उनले भने।
पुँजी बजार विस्तार र विकास काम भइरहेकोले बजारले थप उचाइ लिने सम्भावना रहेको शर्माको तर्क छ।
बजार घट्दा लगानीको अवसर हुने भएकोले राम्रा र बलिया कम्पनीको सेयर उठाउने मौका पनि रहेको बास्तोलाको भनाइ छ। ‘अब बजार बढ्दा राम्रा र बलिया कम्पनीका सेयरभाउ बढ्ने सम्भावना छ’, उनले भने, ‘त्यसैले सोचविचार गरर लगानी गर्नु उपयुक्त हुन्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ५ वटामा मात्रै हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.९ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ३.६१ प्रतिशतले बढेको आज लगानी समूहमा ०.५५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३६ प्रतिशत र अन्य समूहमा ०.४० प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन वित्त समूह सर्वाधिक २.५१ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.३७ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.३६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५८ प्रतिशत, जलविद्युत समूहमा १.८९ प्रतिशत, जीवन बीमा समूहमा ०.८० प्रतिशत, लघुवित्त समूहमा ०.६६ प्रतिशत र निर्जीवन बीमा समूहमा १.१२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ६३ हजार ६३६ कित्ता सेयर ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७८.६१ रुपैयाँमा किनबेच भएको छ।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ४१ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्ला तामाकोशीको १९ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बैंकको १५ करोड ५६ लाख रुपैयाँ, निफ्राको १३ करोड ३२ लाख रुपैयाँ, नेपाल टेलिकमको १२ करोड ८९ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड २५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ११ करोड ३८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १० करोड ९२ लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ६५ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ८ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज विशाल बजार कम्पनीको सेयरधनीहरु मालामाल बनेका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। यो दिन हिमालयन डिस्टिलरीको सेयरभाउ पनि ८ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन गोर्खाज फाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago