काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ।
आज बजार ७४.७१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८९९.८२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १३.७७ अंकले बढेर ५४३.४३ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर ८ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार प्रेम ओली लगातार घटेको बजार आज बढ्नुलाई स्वाभाविक मान्नुपर्ने बताउँछन्। ‘लगातार घट्ने क्रम रोकिएलाजस्तो छ’, उनले भने, ‘अब करेक्सन हुँदै बजार माथि जाने सम्भावना छ, ३००० को विन्दुमा पुगेपछि बजारमा करेक्सन आउन सक्छ।’
मौद्रिक नीति सेयर बजारअनुकूल आउने सम्भावना देखेर पर्ख र हेरमा बसेका लगानीकर्ताहरु बजारमा पसेको हुन सक्ने ओलीको भनाइ छ। ‘छिटै सूचीकृत कम्पनीहरुको चौथो त्रैमासको रिपोर्ट पनि आउन थाल्छ’, उनले भने, ‘अब राम्रा कम्पनीका बजार लिड गर्ने सम्भावना छ।’
अब सेक्टरवाइजभन्दा पनि राम्रा कम्पनीहरु चल्ने सम्भावना रहेको पनि ओली बताउँछन्। ‘लगानीको रणनीति परिवर्तन होलाजस्तो छ’, उनले भने, ‘अब राम्रा कम्पनीमा लगानी गरे उचित प्रतिफल प्राप्त हुन सक्छ।’
सक्रिय लगानीकर्ता विष्णु भुसाल नेप्सेसँगै कारोबार रकम बढुनुले बजारमा असार मसान्तको प्रेसर सकिएको अनुमान गर्न सकिने बताउँछन्। ‘संस्थागत र ठूला लगानीकर्ता बजारमा प्रवेश गरेजस्तो छ’, उनले भने, ‘सेयर बजारअनुकूल खबर सार्वजनिक हुनु र मौद्रिक नीतिमा पनि बजारलाई प्रभाव पार्ने खालका व्यवस्था नआउने सम्भावना देखेर लगानीकर्ताको मनोबल बढेको देखिन्छ।’
अब बजारमा लगाएको पैसाको प्रतिफल खाने समय नजिकिएकोले पनि लगानीकर्ता सक्रिय रुपमा कारोबारमा सहभागी भएको भुसाल बताउँछन्। ‘थोरै पैसाले पनि राम्रो कमाइ हुने बजारका रुपमा सेयर मार्केट स्थापित हुँदैछ’, उनले भने, ‘त्यसैले सेयर बजारमा आकर्षण पनि बढेको देखिन्छ।’
अब आउँदो चुनावसम्म बजार सकारात्मक ढंगले अगाडि बढ्न सक्ने भुसालको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन वित्त समूह सर्वाधिक ८.३७ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ८.२९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.३४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.४१ प्रतिशत, जलविद्युत समूहमा २.८८ प्रतिशत, लगानी समूहमा २.६८ प्रतिशत, जीवन बीमा समूहमा २.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५७ प्रतिशत, लघुवित्त समूहमा २.५७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८५ प्रतिशत, निर्जीवन बीमा समूहमा २.७२ प्रतिशत, अन्य समूहमा ०.४२ प्रतिशत र व्यापार समूहमा ०.९४ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६.३९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन एनआईस एसिया बैंकको सर्वाधिक ३९ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २५ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बैंकको २४ करोड ४३ लाख रुपैयाँ, निफ्राको १८ करोड ७८ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १७ करोड ६७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १७ करोड ६२ लाख रुपैयाँ, छिमेक लघुवित्तको १७ करोड ४३ लाख रुपैयाँ, ज्योति विकास बैंकको १७ करोड १२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ५८ लाख रुपैयाँ र कामना सेवा विकास बैंकको १५ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २२ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। गोर्खाज, श्री इन्भेस्टमेन्ट र आईसीएफसी फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स, समृद्धि फाइनान्स, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, हिमालय दोलखा हाइड्रोपावर, ज्योति विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, बेस्ट फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
आज कामना सेवा विकास बैंक र सिन्धु विकास बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले सार्वधिक गुमाए। यो बैंकको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19