काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजार झिनो अंकले उकालो लागेको छ।
आज बजार १.०१ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २८७२.०५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.१४ अंकले घटेर ५३९.३८ को विन्दुमा झरेको छ। कारोबार रकम साढे ५ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार कल्पा पौडेल बजार साइडवेजमा रहेकोले स्थिरजस्तो देखिएको बताए। ‘राजनीतिको प्रभाव देखिएन, अब मौद्रिक नीति कस्तो आउला भन्ने सोचमा लगानीकर्ता बसेको देखिन्छ’, उनले भने, ‘त्यसैले लगानीकर्ताहरु पर्ख र हेरको अवस्था छन्।’
लगानीकर्ताहरु सक्रिय नभएकै कारण कारोबार रकम ६ अर्ब रुपैयाँभन्दा माथि जान नसकेको पौडेलको भनाइ छ। ‘बजारलाई राजनीतिले भन्दा नीतिनियमले प्रभाव पार्छ’, उनले भने, ‘तर मौद्रिक नीति सेयर बजारमैत्री नै आउँछ भन्ने विश्वास छ।’
अहिलेको अवस्थामा राम्रा र बलिया कम्पनीका सेयर उठाउनु नै उचित हुने पौडेलले सुझाव दिए।
अर्का बजार जानकार मुक्तिबहादुर खत्री बजारमा राजनीति प्रभाव खासै नदेखिएको बताउँछन्। ‘हिजोआजको बजारले राजनीतिले बजारमा प्रभाव नपर्ने स्पष्ट देखिएको छ’, उनले भने, ‘नयाँ अर्थमन्त्री आएका छन्, जसले ऊर्जामन्त्री हुँदा राम्रा काम गरेका छन्। त्यसैले उनी सेयर बजारप्रति सकारात्मक नै रहने देखिन्छ।’
लगानीकर्ताहरु नयाँ अर्थमन्त्रीको कदम र मौद्रिक नीतिको प्रतीक्षामा रहेको खत्री बताउँछन्। ‘त्यसैले बजारमा २–४ दिन यस्तै थोरै उतारचढाव हुने देखिन्छ’, उनले भने, ‘मौद्रिक नीति पनि बजार अनुकूल आउने सम्भावना, त्यसपछि बजार बढ्न सक्छ।’
बजारमा अहिले कमजोर कम्पनीहरु बढेका कारण जोखिम बढेकोले तत्काल नियामकले उचित कदम चाल्नुपर्ने खत्रीको भनाइ छ। ‘तर लगानीकर्ताहरुले सोचविचार गरेर राम्रा कम्पनीमा लगानी गर्नु उचित हुन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा मात्रै हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ।
यो दिन जलविद्युत समूह सर्वाधिक २.७१ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.४८ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा ०.२२ प्रतिशत, लगानी समूहमा ०.७२ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३५ प्रतिशतको बढोत्तरी भएको छ।
आज निर्जीवन बीमा समूह सर्वाधिक ०.५८ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.४८ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.३२ प्रतिशत, विकास बैंक समूहमा ०.२४ प्रतिशत, जीवन बीमा समूहमा ०.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२४ प्रतिशत, लघुवित्त समूहमा ०.३८ प्रतिशत, अन्य समूहमा ०.४८ प्रतिशत र व्यापार समूहमा ०.३२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २४१ कम्पनीका ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५.११ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक २९ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। छिमेक लघुवित्तको २२ करोड ३३ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको १९ करोड ७२ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तको १६ करोड १६ लाख रुपैयाँ, नबिल ब्यालेन्स्ड फन्ड–२ को १५ करोड ८८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ३० लाख रुपैयाँ, नबिल बैंकको १३ करोड ६५ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको १३ करोड ३७ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १२ करोड ३६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १२ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज हिमालयन पावर पाटर्नरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा ८ प्रतिशत बढीको बढोत्तरी भएको छ। नेपाल फाइनान्सको सेयरभाउ पनि ८ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
आज सूर्योदय लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरभाउमा २ प्रतिशत बढीले गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19