काठमाण्डौ । लगातार २ दिन बढेको बजारमा सोमबार सामान्य करेक्सन आएको छ।
धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा आज ८.२४ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक ३०५०.४३ को विन्दुमा झरेको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.९३ अंकले ओरालो लागेर ५७१.११ को विन्दुमा समेटिएको छ। कारोबार रकम पनि सवा १४ अर्बको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकाल आज बजारमा करेक्सन आएको बताउँछन्। ‘हिजो बजार ५४ अंकले बढेको थियो, आज लगानीकर्ताहरुले प्रफिट बुक गर्नाले बजारमा करेक्सन आएको हो’, उनले भने।
बुलिस बजारमा करेक्सन आउनुलाई सामान्य रुपमा लिनुपर्ने ढकाल बताउँछन्। ‘करेक्सनले नै बजारलाई मजबुत बनाउने हो, यो सबैले बुझ्न जरुरी छ’, उनले भने।
सेयर बजार चौतर्फी रुपमा सकारात्मक रहेकोले अब के होल भनेर आत्तिनुपर्ने अवस्था नरहेको ढकाल बताउँछन्। ‘नयाँ अर्थमन्त्री जनार्दन शर्मा पनि पुँजी बजारप्रति सकारात्मक नै छन्’, उनले भने, ‘अर्थमन्त्रीबाट बजार विस्तार र विकासका कामहरु गर्ने प्रतिबद्धता आएको छ। जसका कारण लगानीकर्ताको मनोबल बढेको छ। त्यसैले बजारको भविष्य राम्रै देखिन्छ।’
केही दिनअघिको भेटमा अर्थमन्त्री शर्मालाई बैंकलाई ब्रोकर लाइसेन्स दिन, गाउँ–गाउँबाट पुँजी बजारमा सहभागिता जनाउन सक्ने वातावरण बनाउन र ब्रोकर कमिसन घटाउन आफूहरुले सुझाव दिएको ढकाल बताउँछन्। ‘अर्थमन्त्री यी विषयमा सकारात्मक नै छन्, अध्ययन गरेर ठोस निर्णय लिने अर्थमन्त्रीले प्रतिबद्धता जनाएका छन्’, उनले भने।
सक्रिय लगानीकर्ता रोहन कार्की आज लगानीकर्ताहरुले प्रफिट बुक गर्दा नै बजारमा सामान्य करेक्सन आएको बताउँछन्। ‘हिजो बजारले अलटाइम हाई रेकर्ड ब्रेक गरेको थियो’, उनले भने, ‘अल्पकालीन लगानीकर्ताहरुले आज प्रफिट बुक गरे।’
आजको बजारलाई हेर्दा लगानीकर्ताहरु अन्य सेक्टरका राम्रा कम्पनीहरुमा आकर्षित भएको देखिएको कार्की बताउँछन्। ‘बजार सकारात्मक नै छ तर १–२ दिन प्रफिट बुक हुन सक्छ’, उनले भने।
मौद्रिक नीति सकारात्मक नै आउने सम्भावना रहेको कार्की बताउँछन्। ‘मौद्रिक नीति सेयर बजारलाई प्रभावित पार्न खालको आउँछ कि भनेर डराइहाल्नुपर्ने अवस्था छैन’, उनले भने।
अब कम्पनीहरुको चौथो त्रैमासिक रिपोर्ट र लाभांश घोषणाले बजारलाई थप उचाइमा लग्ने कार्कीको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक ३.३४ प्रतिशतले उकालो लागेको छ। वित्त समूह २.५४ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा ०.४० प्रतिशत, जीवन बीमा समूहमा ०.३९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३० प्रतिशत, लघुवित्त समूहमा १.७७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१४ प्रतिशत र व्यापार समूहमा १.३८ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन बैंकिङ समूह सर्वाधिक १.९९ प्रतिशतले घटेको छ। म्युचुअल फन्ड समूह १.४३ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.७२ प्रतिशत, लगानी समूहमा ०.१० प्रतिशत र अन्य समूहमा ०.४९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१.१६ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन ङादी ग्रुप पावरको सर्वाधिक ३९ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ३३ करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ३३ करोड ४१ लाख रुपैयाँ, कृषि विकास बैंकको ३२ करोड ८५ लाख रुपैयाँ, नेपाल बैंकको ३२ करोड ३१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३२ करोड १२ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ३१ करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकको ३० करोड २४ लाख रुपैयाँ, नबिल बैंकको २९ करोड २६ लाख रुपैयाँ र मञ्जुश्री फाइनान्सको २८ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर, माउन्ट हाइड्रोपावर र ग्रिनलाइफ हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा हिमालय ऊर्जा विकास र ङादी ग्रुप पावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्यमा पनि ९ प्रतिशतको हाराहारीमा बढोत्तरी भएको छ।
यो दिन पोखरा फाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19