काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि बजार झिनो अंकले उकालो लागेको छ।

आज बजार ४.०६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक ३०८५.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३० अंकको बढोत्तरीका साथ ५७२.४६ को विन्दुमा पुगेको छ। आज ११ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे बजार सकारात्मक ढंगले नै अगाडि बढिरहेको बताउँछन्। ‘आजको बजारमा खरिदकर्ता र बिक्रीकर्ता दुवै मोलमोलाइमा लागेको देखिन्छ’, उनले भने, ‘तर पनि सरसर्ती हेर्दा राम्रो वित्तीय विवरण आउने सम्भावना भएका कम्पनीहरुमा खरिदचाप उच्च देखिएको छ।’

आजको कारोबारलाई अध्ययन गर्दा आगामी दिनमा बजारले माथिल्लो लय नै समात्ने देखिएको पनि घिमिरे बताउँछन्। ‘अझै पनि लगानीकर्ताहरु मौद्रिक नीतिकै प्रतीक्षामा देखिन्छ’, उनले भने, ‘मौद्रिक नीति सकारात्मक नै आउने र बजार गति लिने देखिन्छ।’

बजार बढ्नेमा विभिन्न आधारहरु रहेको घिमिरे बताउँछन्। ‘२–४ महिनाका लागि ब्याजदर बढ्ने र तरलता टाइट हुने सम्भावना निकै कम छ’, उनले भने, ‘कम्पनीहरुका चौथो त्रैमासिक रिपोर्टहरु आइरहेका छन्, अब लाभांश खाने समय पनि नजिकिएको छ।’

त्यसो त लगभग ३१०० को विन्दुमा पुगेर फर्केको बजार करेक्सन लगभग सकिएको घिमिरेको बुझाइ छ। ‘त्यसैले अहिलेको समय भनेको राम्रा कम्पनीका सेयर खरिद गरी लाभांशका लागि पर्खिने समय हो’, उनले भने। 

आज नेप्से उपसमूहमा १३ वटामध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। यो दिन लघुवित्त समूहमा सर्वाधिक २.२२ प्रतिशतले उकालो लागेको छ। लगानी समूह १.७३ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.१० प्रतिशत, वित्त समूहमा ०.३४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ०.७९ प्रतिशतको बढोत्तरी भएको छ।

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.४९ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.२५ प्रतिशत घटेको आज जलविद्युत समूहमा ०.५५ प्रतिशत, जीवन बीमा समूहमा ०.५० प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६० प्रतिशत, अन्य समूहमा ०.८० प्रतिशत र व्यापार समूहमा १.१६ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता सेयर १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार ६०६.४३ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण काबेली पावरको सार्वधिक ३७ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। युनिभर्सल पावरको ३५ करोड ४८ लाख रुपैयाँबराबरको कारोबार भएको आज फर्स्ट माइक्रोफाइनान्सको ३४ करोड ३ लाख रुपैयाँ, नागरिक लगानी कोषको ३२ करोड १९ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको २८ करोड ८६ लाख रुपैयाँ, समृद्धि फाइनान्सको २४ करोड ८ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २३ करोड २३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ४४ लाख रुपैयाँ, सिनर्जी पावरको २२ करोड २३ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा गुराँस लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन फर्स्ट माइक्रोफाइनान्सको सेयरभाउ ९ प्रतिशत बढी र युनिभर्सल पावरको सेयरमूल्य ९ प्रतिशतले उकालो लागेका छन्।

यो दिन नेपाल हाइड्रो र युनाइटेड इदी मर्दीका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।