काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार थोरै अंकले उकालो लागेको छ।
आज बजार १.५४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक ३१०९.६६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने २.०५ अंकले घटेर ७७५.९५ को विन्दुमा झरेको छ। कारोबार रकम सवा १४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकाल बजार सकारात्मक ढंगले अगाडि बढिरहेको बताउँछन्। ‘कोभिडका कारण अन्य क्षेत्रमा लगानीको अवसर छैन, त्यसैले सेयर बजारमै लगानी बढ्ने सम्भावना छ’, उनले भने, ‘तत्काल बैंक ब्याजदर बढ्ने सम्भावना नरहेकोले बजार सकारात्मक नै रहने देखिन्छ।’
लाभांशको समय पनि भएकोले बजार सकारात्मक नै रहने ढकालको भनाइ छ। अहिले १४ अर्ब बढीकै कारोबार भइरहेकोले पनि बजार मजबुत नै रहेको देखिने उनले बताए।
ढुक्क भएर राम्रा र बलिया कम्पनीमा लगानी गर्दा उचित हुने ढकालले सुझाव दिए।
सक्रिय लगानीकर्ता मेघनाथ निरौला पनि बजार मजबुत नै रहेको बताउँछन्। अहिले सेक्टरवाइज चलिरहेको उल्लेख गर्दै उनले बजार सोचेको गन्तव्यमा पुगिनसकेको बताए। ‘त्यसैले अहिले डराउनुपर्ने अवस्था छैन, बजार गन्तव्यमा पुग्न बाँकी नै छ’, उनले भने, ‘बैंकिङ सेक्टर चल्न बाँकी नै रहेकोले वास्तविक बुल आउन बाँकी नै रहेको छ।’
बजार अझै बढ्न बाँकी नै रहेकोले नबढेका सेक्टरमा लगानी गर्दा उचित हुने निरौलाको भनाइ छ। ‘मौद्रिक नीति पनि बजारअनुकूल नै आउने भएकोले ढुक्क भएर लगानी गर्दा हुन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। यो दिन जलविद्युत र वित्त समूह दुवै सर्वाधिक ३.३५ प्रतिशतले उकालो लागेका छन्। जीवन बीमा र निर्जीवन बीमा दुवै २७ प्रतिशतले बढेको आज अन्य समूहमा ०.४ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन व्यापार समूह सर्वाधिक १.०७ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.०४ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.५७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८३ प्रतिशत, लघुवित्त समूहमा ०.९७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३७ प्रतिशत र लगानी समूहमा ०.५६ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता सेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ रुपैयाँमा किनबेच भएको छ।
यो दिन अपी पावरको सर्वाधिक ७६ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्ला तामाकोशीको ५८ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको ५३ करोड ४५ लाख रुपैयाँ, सिजर्नी पावरको ५० करोड २३ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड ४ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ४१ करोड ८७ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ३२ करोड २७ लाख रुपैयाँ, अरुण काबेली पावरको ३१ करोड ६१ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको २९ करोड ९४ लाख रुपैयाँ र बुटवल पावरको २९ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन ८ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। युनाइन हाइड्रोपावर, नेसनल हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स र जीवन विकास लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा ङादी ग्रुप पावर, युनियन लाइफ इन्स्योरेन्स र हिमालयन पावर पाटर्नरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज मिर्मिरे लघुवित्त, सारथी नेपाल लघुवित्त, नेपाल फाइनान्स, सूर्योदय लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यी सबै कम्पनीका सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19