काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ।
आज बजार १८.५४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २९२९.२९ को विन्दुमा झरेको छ। यो दिन बजारमा अनौठो संयोग पनि भएको छ। बजार भदौको २९ गते २९२९.२९ को विन्दुमा बन्द भएको छ।
राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स ३.२१ अंकले घटेर ५४५.६७ को विन्दुमा झरेको छ। यो दिन कारोबार रकम पनि घटेर सवा ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे आजको घटाइलाई स्वाभाविक रुपमै लिनुपर्ने बताउँछन्। ‘किनकि लगानीकर्ता नयाँ ब्याजदरको प्रतीक्षामा छन्, यो पर्ख र हेरको अवस्था हो’, उनले भने, ‘बजार अब केही दिनका साइडवेजमा जान सक्छ। तर दीर्घकालनी लगानी गर्नेहरुका लागि खरिदको अवसर पनि सिर्जना भएको छ।’
बजार घट्नुमा सीडी रेसियो, बैंकको ब्याजदर र राष्ट्र बैंकको सेयर धितो कर्जाको सीमा नै प्रमुख कारण रहेको घिमिरेको भनाइ छ। यद्यपि बजारको विस्तार व्यापक भएकोले धेरै तल झर्ने सम्भावना नरहेको उनले बताए।
सक्रिय लगानीकर्ता निमानन्द कँडेलले बजारमा अहिले नै डराउनुपर्ने अवस्था नरहेको बताउँछन्। ‘लाभांश खाने समय पनि हो’, उनले भने, ‘खराब कम्पनीबाहेक राम्रा र बलिया कम्पनीमा लगानी गर्ने अवसर पनि सिर्जना भएको छ।’
ब्याजदर एक/डेढ प्रतिशत बढ्दैमा तरलतामा दबाब नहुने कँडेलको तर्क छ। ‘बजार बुलिस नै रहेकोले आत्तिनुपर्ने अवस्था छैन’, उनले भने।
यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज निर्जीवन बीमा समूह सर्वाधिक २.०४ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.१९ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.२१ प्रतिशत, वित्त समूहमा ०.९१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४९ प्रतिशत, जलविद्युत समूहमा ०.८९ प्रतिशत, लगानी समूहमा ०.७६ प्रतिशत, जीवन बीमा समूहमा ०.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९८ प्रतिशत, लघुवित्त समूहमा ०.५२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशत, अन्य समूहमा ०.४६ प्रतिशत र व्यापार समूहमा ०.६६ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता सेयर ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३.२२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २७ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रैराङ हाइड्रोपावरको २२ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको आज युनाइटेड मोदी हाइड्रोपावरको २२ करोड ३४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड ७३ लाख रुपैयाँ, नेसनल हाइड्रोको ११ करोड ८७ लाख रुपैयाँ, अपी पावरको ११ करोड २५ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ११ करोड १५ लाख रुपैयाँ, सिटिजन्स बैंकको १० करोड ७३ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको १० करोड ५५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ९ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज दुई कम्पनीको सेयरधनीहरु मालामाल भएका छन्। मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सका सेयरधनीहरु मालामाल भएका हुन्। मनकामनाको सेयरमूल्यमा १० प्रतिशत तथा सानिमा लाइफको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट नै लागेको छ।
यो दिन राष्ट्रिय बीमा कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19