काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ। 

बजार आज १८.५३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६६२.५८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४.९६ अंकले घटेर ४९९.७८ को विन्दुमा ओर्लेको छ। आज साढे ४ अर्ब रुपैयाँको हाराहारीमा सेयर कारोबार भएको छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट आजको बजार घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। अब बजारको लय दसैँपछि मात्र थाहा हुने उनको भनाइ छ। 

बैंक ब्याजदरको अवस्थाले अबको बजारको दिशालाई निर्देशन गर्ने बिष्ट बताउँछन्। ‘यदि ब्याजदर बढेर बजार साइडवेजमा जान सक्छ’, उनले भने, ‘यही कारणले पनि अहिले केही लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्।’

स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्की पछिल्ला केही दिन लगातार बजार बढेकोले आज करेक्सन आएको बताउँछन्। ‘बढेको बजारबाट प्रफिट बुक गर्दा आज करेक्सन आएको हो’, उनले भने।

आज पहिलो कारोबार सत्रमा बजार बढेको र पछिल्लो सत्रमा बजार घटे बिक्रीचाप खासै नपरेको कार्की बताउँछन्। ‘यसले यो करेक्सन स्वाभाविकै रहेको र यसले बजारलाई थप मजबुत गर्ने संकेत मिलेको छ’, उनले भने। 

लगातार घटेको बजार पछिल्लो केही दिनदेखि संयमताका साथ बढेकोले थोरै करेक्सन आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको कार्की बताउँछन्। ‘ब्याजदरको असर अल्पकालीन हुने भएकोले आधार दर डबल डिजिट नभएसम्म डराउनु पर्दैन’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड सर्वाधिक ०.७६ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह ०.५ प्रतिशतले बढेको आज वित्त समूहमा ०.२९ को बढोत्तरी भएको छ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.१६ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.५९ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.३४ प्रतिशत, व्यापार समूहमा ०.४७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.९ प्रतिशत, विकास बैंक समूहमा १.१९ प्रतिशत, जलविद्युत समूहमा १.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४४ प्रतिशत, लघुवित्त समूहमा ०.८५ प्रतिशत र लगानी समूहमा ०.७१ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन महिला लघुवित्तको सर्वाधिक १८ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। जीवन विकास लघुवित्तको १८ करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बंगलादेश बैंकको १५ करोड २७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १३ करोड २५ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ४७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १० करोड ६९ लाख रुपैयाँ, नेपाल बैंकको ९ करोड ४९ लाख रुपैयाँ, छिमेक लघुवित्तको ९ करोड ७ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड १७ लाख रुपैयाँ रैराङ हाइड्रोपावरको ८ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज मैलुङ खोला जलविद्युतको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरभाउ १० प्रतिशतको हाराहारीमा उकालो लागेको छ।

यो दिन जीवन विकास लघुवित्त र महिला लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज शिवम सिमेन्ट, माउन्टेन हाइड्रो र रिडी हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी ३ वटै कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।