काठमाण्डौ । तिहारपछिको पहिलो कारोबारमा सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार सोमबार १९.२० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८२९.६४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेस्क पनि २.७१ अंकले घटेर ५२८.३७ को विन्दुमा समेटिएको छ। आज झन्डै साढे ४ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ।

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल बजारको आजको घटाइलाई करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘तिहारअघि बजार लगातार बढेको थियो, आज करेक्सन आउनु स्वाभाविक नै हो’, उनले भने।

ठूला र संस्थागत लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको रणनीतिमा रहेको अर्याल बताउँछन्। ‘बजार साना लगानीकर्ताले मात्रै चल्दैन’, उनले भने, ‘ठूला र संस्थागत लगानीकर्ता पस्न जरुरी छ।’

त्यसैले ठूला लगानीकर्ताहरु अहिले राष्ट्र बैंकले ल्याउने भनेको मौद्रिक नीतिको त्रैमासिक समीक्षा कुरेर बसेकोजस्तो देखिएको अर्यालको भनाइ छ। ‘मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले यसअघिको पुँजीबजारसँग सम्बन्धित नीतिमा संशोधन गर्ने हो भने बजार लयमा फर्किन्छ’, उनले भने।

अहिले लाभांश घोषणाको सिजन पनि भएकोले लगानीकर्ताहरुले कम्पनीको लााभांश इतिहास हेरेर लगानी गर्दा उचित हुने अर्यालको सुझाव छ। 

सक्रिय लगानीकर्ता निमानन्द कँडेल पनि तिहारअघि बजार लगातार बढेकोले आज करेक्सन आउनु स्वाभाविक रहेको बताउँछन्। ‘आज कारोबार र इन्डेक्स दुवै घटेको छ’, उनले भने, ‘यसले अझै लगानीकर्ताहरु फेस्टिभ मुडमै रहेको देखिन्छ। त्यसैले आजको घटाइ स्वाभाविक करेक्सन नै हो, आत्तिहाल्नुपर्दैन।’

मौद्रिक नीतिको समीक्षापछि बजारको बाटो तय हुने कँडेलको भनाइ छ। ‘ठूला लगानीकर्ताहरु यसैको पर्खाइमा छन्’, उनले भने, ‘उनीहरु राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत सेयर धितो कर्जा र सीडी रेसियोमा पुनरावलोकन गर्नेमा आशावादी छन्।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक ०.७८ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ०.६७ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा ०.५१ प्रतिशतको बढोत्तरी भएको छ।

यो दिन विकास बैंक समूह सर्वाधिक १.२४ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.१६ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०५ प्रतिशत, व्यापार समूहमा ०.४६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८६ प्रतिशत, जलविद्युत समूहमा ०.४१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.०५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४४ प्रतिशत, लघुवित्त समूहमा ०.९९ प्रतिशत र जीवन बीमा समूहमा ०.६३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ७२ लाख ७ हजार ३९६ कित्ता सेयर ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक ५२ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३० करोड ३३ लाख रुपैयाँबराबरको कारोबार भएको आज आईसीएफसी फाइनान्सको २२ करोड ४० लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १५ करोड ४१ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ८ लाख रुपैयाँ, अपी पावरको १३ करोड १७ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १२ करोड ४७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १० करोड ९७ लाख रुपैयाँ, निफ्राको ९ करोड ३१ लाख रुपैयाँ र अरुण काबेली पावरको ८ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आईसीएफसी फाइनान्स र साहस उर्जाको सेयरमूल्यमा १० प्रतिशत तथा तेह्रथुम पावर, मानुषी लघुवित्त र महालक्ष्मी विकास बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरमूल्यमा ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।