काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार भारी अंकले उकालो लागेको छ। 

बजार आज ६९.२२ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २७८४.५८ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.९२ अंकले बढेर ५२१.४६ को विन्दुमा उक्लिएको छ। कारोबार रकम पनि बढेर साढे ५ अर्ब रुपैयाँ बढीको भएको छ। 

स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्की बजारमा करेक्सन पूरा भएको बताउँछन्। ‘ब्याजदरको डर थियो, त्यो राष्ट्र बैंकको सर्कुलरपछि हिजोबाटै अन्त्य भएको थियो’, उनले भने, ‘त्यही भएर हिजोबाट बजारमा सुधार देखियो र आज उच्च अंकले बढ्यो।’

लगानीकर्ताको मनोबल बढ्दो बजार बढेको कार्कीको भनाइ छ। कारोबार रकम पनि बढेकोले बजार अब आगामी दिनमा सकारात्मक ढंगले नै अगाडि बढ्ने सम्भावना रहेको उनी बताउँछन्। 

पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु पनि बजारमा प्रवेश गर्न थालेको कार्की बताउँछन्। ‘हालको सेयर बजार नयाँ तरिकाले चलेको छ’, उनले भने, ‘स्वपुँजी लगानी गर्नेहरुको संख्या बढेकोले बजार पनि सकारात्मक बन्न थालेको हो’, उनले भने।

बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि हालको नेपालको सेयर बजार स्वपुँजी र विदेशबाट हुने लगानी गर्नेहरु बढेकै कारण बढेको बताउँछन्। आज नेपाल टेलिकमलगायत ठूला कम्पनीहरुको त्रैमासिक रिपोर्ट पनि राम्रो आउनुले बजार बढ्नलाई थप सपोर्ट मिलेको घिमिरेको तर्क छ। ‘५–६ वर्षअघिको सेयर बजार र अहिलेको सेयर बजारमा फरक दृश्य देखिएको छ’, उनले भने, ‘त्यसैले बजारको ट्रेन्ड पनि केही फरक ढंगले अगाडि बढ्ने देखिन्छ।’

आज नेप्से उपसमूहमा १३ वटै समूहमा हरियाली पोतिएको छ। अन्य समूह सर्वाधिक ५.९१ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ५.३९ प्रतिशतले बढेको यो दिन बैंकिङ समूहमा १.९० प्रतिशत, विकास बैंक समूहमा २.०२ प्रतिशत, वित्त समूहमा ३.२१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.१४ प्रतिशत, लगानी समूहमा १.८१ प्रतिशत, जीवन बीमा समूहमा १.७७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९७ प्रतिशत, लघुवित्त समूहमा १.६८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.५१ प्रतिशत र व्यापार समूहमा २.०४ प्रतिशतको बढोत्तरी आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका १ करोड ९३ हजार २२१ कित्ता सेयर ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६.७५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक ३७ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको ३० करोड ४२ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको २३ करोड ३६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १८ करोड २४ लाख रुपैयाँ, नेपाल टेलिकमको १६ करोड ४३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ५८ लाख रुपैयाँ, एचआईडीसीएलको १५ करोड १७ लाख रुपैयाँ, जानकी फाइनान्सको १३ करोड ६६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ९९ लाख रुपैयाँ र नबिल बैंकको ११ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ९ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। 

यो दिन नेपाल बंगलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माई हाइड्रोपावर, माथिल्लो तामाकोशी र मैलुङखोला जलविद्युतको सेयरभाउमा १० प्रतिशत तथा मानुषी लघुवित्त, तेह्रथुम पावर र प्रभु इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। आज श्री इन्भेस्टमेन्ट फाइनान्स, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर र नेसनल हाइड्रोको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज विजय लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ।