काठमाण्डौ । सेयर बजार बुधबार झिनो अंकले उकालो लागेको छ। 

बजार आज १.८२ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २७३४.९३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२८ अंकले घटेर ५१५.२० को विन्दुमा झरेको छ। कारोबार रकम सवा ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

सेयर बजार जानकार सरोज भट्टराई बजार अब धेरै तल जाने सम्भावना नरहेको बताए। ‘अहिले तत्काल बजार माथि जाने आधार न्यून छन्’, उनले भने, ‘धेरै तल जाने पनि देखिँदैन किनकि बजार केही घट्दाखेरी अल्पकालीन लगानीकर्ताहरु पुरानै कम्पनीहरुमा हावी हुने हुँदा बजार धेरै घट्न सकेको छैन।’

सूचीकृत कम्पनीहरुका लाभांश आउँदै गरेकोले राम्रा कम्पनीहरुको सेयरमूल्य घटेर तल जाने सम्भावना पनि नरहेको भट्टराईले बताए। ‘कम्पनीहरुको लाभांश घोषणापछि माघ–फागुनको सिजनमा बजारमा केही करेक्सन आउन सक्छ’, उनले भने।

अहिले नै बजार ठूलो घटबढको सम्भावना नरहेको भट्टराईको तर्क छ।

सेयर बजार जानकार गोविन्दप्रसाद घिमिरे लगानीकर्ताहरु मौद्रिक नीतिको समीक्षाको पर्खाइमा रहेको बताउँछन्। बजार माथि जानका लागि ‘गुड न्युज’को आवश्यक रहेको घिमिरेको भनाइ छ। ‘बजार तल जान पनि ‘ब्याड न्युज’को आवश्यक हुन्छ’, उनले भने, ‘त्यसैले अब गुड न्युज आउँछ कि ब्याड न्युज, लगानीकर्ता पर्खिरहेका छन्।’

केही दिनयताको परिस्थिति हेर्दा मौद्रिक नीतिको समीक्षामा केही न केही अवश्य आउने घिमिरेको भनाइ छ। ‘त्यसैले अब बजारको यात्रा मौद्रिक नीतिको समीक्षापछि मात्र तय हुन्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक १.४१ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ०.८१ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा ०.०६ प्रतिशत, जलविद्युत समूहमा ०.७४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४२ प्रतिशत, अन्य समूहमा ०.२५ प्रतिशत, लघुवित्त समूहमा ०.०६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशत र लगानी समूहमा ०.६४ प्रतिशतको बढोत्तरी भएको छ।

यो दिन व्यापार समूह सर्वाधिक १.२८ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ०.४१ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.४ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ७४ लाख ४५ कित्ता २२७ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६.५२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल टेलिकमको सर्वाधिक २६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आईसीएफसी फाइनान्सको १८ करोड ६७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको १७ करोड ६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १४ करोड २ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको १२ करोड ८३ लाख रुपैयाँ, अरुण काबेली पावरको १२ करोड ७७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ११ करोड ४३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ५ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ८ करोड ९६ लाख रुपैयाँ र नबिल बैंकको ८ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज मैलुङ खोला जलविद्युतका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउ ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन गोखार्ज फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।