काठमाण्डौ । तीव्र उतारचढावबीच सेयर बजार बुधबार सामान्य अंकको गिरावटका साथ बन्द भएको छ।
बजार आज ४.२३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २४१४.६२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ अंकको गिरावटका साथ ४५९.४१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बजार मजबुत नै रहेको बताउँछन्। ‘हिजो धेरै अंकले बढेर आज सामान्य करेक्सन भएको छ, आत्तिनुपर्दैन’, उनले भने, ‘आत्तिक सेयर बेच्नुभन्दा पनि धैर्य गरेर होल्ड गर्नेले जित्नेछन्।’
राष्ट्र बैंकको नीति र नेताको बोली पछिल्लो समय बजार प्रभावित भएको रौनियार बताउँछन्। ‘पछिल्लो समय अर्थमन्त्रीबाट सकारात्मक कुराहरु आइरहेका छन्, अब कुरा गरेरमात्र होइन गरेर देखाउनुपर्यो’, उनले भने, ‘बजारमा सबै खाले लगानीकर्ता छन्। उनीहरुको सम्पत्ति सुरक्षित गर्ने जिम्मेवारी सरकारको हो।’
लगानीकर्ताहरुलाई आवेशमा आएर सेयर किन्ने र बेच्ने काम नगर्न पनि रौनियारले सुझाव दिए। ‘बजारको ट्रेन्ड हेरेर सेयर कारोबार गनुपर्छ’, उनले सुझाव दिए।
सक्रिय लगानीकर्ता निमानन्द कँडेल आज कारोबार बढेको लगानीकर्ताहरुको मनोबल बढ्दै गएको पुष्टि हुने बताउँछन्। ‘अब बजार बढ्ने नै हो’, उनले भने, ‘तर सेयर बजारलाई आफ्नो लयमा चल्न दिनुपर्छ, बजारलाई प्रभावित पार्ने गरी बोल्न भएन।’
हिजोको बढाइबाट लगानीकर्ताहरु उत्साहित बनेको कँडेलको भनाइ छ। ‘बजारप्रति लगानीकर्ताको विश्वास फर्किएको छ’, उनले भने, ‘तरलता पनि सहज बन्दै गएको बजारको अबको यात्रा सुखद् नै हुने देखिन्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक २.२१ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह १.२ प्रतिशतले बढेको आज विकास बैंक समूहमा ०.९५ प्रतिशत, जलविद्युत समूहमा ०.२८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.१४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०४ प्रतिशत र लगानी समूहमा ०.६२ प्रतिशतको बढोत्तरी भएको छ।
आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.७९ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.५८ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.५६ प्रतिशत, लघुवित्त समूहमा ०.३८ प्रतिशत र जीवन बीमा समूहमा ०.३४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ९८ लाख ७९ हजार १०९ कित्ता सेयर ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक १६ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको १५ करोड ८४ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको १३ करोड ८८ लाख रुपैयाँ, नबिल बैंकको १३ करोड २९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ७८ लाख रुपैयाँ, अरुण काबेली पावरको ११ करोड ३६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ११ करोड ३१ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १० करोड ७७ लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ६२ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सको १० करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन सामलिङ्ग पावरको सेयरभाउ पोजिटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरभाउ झन्डै १० प्रतिशतले बढेको छ।
यसैगरी दिव्यश्वरी हाइड्रोपावर र आँखुखोला जलविद्युतको सेयरभाउ पनि ८ प्रतिशतको हाराहारीमा उकालो लागेका छन्।
आज नयाँ सारथी लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19