काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ।
आज बजार ५६.७३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २४१५.५५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.३४ अंकले बढेर ४६२.५२ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल तरलता सहज पार्न सरकारबाट चालिएका पछिल्लो कदमकै कारण बजार आज सकारात्मक बनेको बताउँछन्। ‘अर्थमन्त्रीले सबै मन्त्रालयले पुस मसान्तसम्म ३० प्रतिशत पुँजीगत खर्च गर्न भन्नु र अर्थ मन्त्रालयले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपका रुपमा बैंकले राख्न पाउने निर्णय कार्यान्वयन गर्न भन्नुले नै बजार सकारात्मक बन्यो’, उनले भने, ‘तरलता सहज बनेमा सेयर बजार सकारात्मक हुनेछ।’
बजार धेरै घटिरहेकोले अब घट्न रोकिने ढकालको भनाइ छ। ‘सरकारका सकारात्मक पहलले बजार बढ्न टेवा पुग्ने देखिन्छ’, उनले भने।
अहिले भनेको सेयर छानीछानी किन्ने अवसर रहेको पनि ढकालले बताए। ‘यतिबेला कम्पनीका सेयरभाउ १२०० को इक्डेक्समा रहेको सरह छ, त्यसैले अहिले सेयर उठाउँदा राम्रै कमाइ हुन सक्छ’, उनले भने।
सक्रिय लगानीकर्ता प्रकाश न्यौपानेको भनाइ पनि ढकालको भन्दा फरक छैन। उनले पनि सरकारले पुस मसान्तसम्म जसरी पनि ३० प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने र स्थानीय तहको ८० प्रतिशत रकम बैंकहरुले निक्षेपका रुपमा राख्न पाउने भनेकै कारण बजार बढेको बताए। ‘अर्को एमसीसीको पैसा आउला भन्ने आशाले पनि बजार बढेको मान्न सकिन्छ’, उनले भने।
यद्यपि अहिले बजारमा कारोबार गर्दा निकै विचार पुर्याउनुपर्ने न्यौपानेको सुझाव छ। ‘राम्रा र बलिया कम्पनीको सेयर छानीछानी उठाउने अवसर छ’, उनले भने, ‘दीर्घकालीन लगानीका लागि अहिले सेयर उठाउँदा राम्रो हुन्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन अन्य समूह सर्वाधिक ३.८८ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ३.६३ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २ प्रतिशत, व्यापार समूहमा २.९२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.९ प्रतिशत, विकास बैंक समूहमा ३.४१ प्रतिशत, वित्त समूहमा १.८२ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.९७ प्रतिशत, लघुवित्त समूहमा २ प्रतिशत, जीवन बीमा समूहमा १.६७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८४ प्रतिशत र लगानी समूहमा १.९३ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ४९ लाख ६४ हजार २५३ कित्ता सेयर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६.९९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक १४ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको १४ करोड १८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको १० करोड ३९ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ७ करोड ५५ लाख रुपैयाँ, एनएमबि बैंकको ६ करोड ४८ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको ६ करोड ४५ लाख रुपैयाँ, छिमेक लघुवित्तको ५ करोड ८३ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ५ करोड ४१ लाख रुपैयाँ, एचआईडीसीएलको ५ करोड ३६ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सको ५ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशत र जानकी फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन रसुवागढी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन गोर्खाज फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो फाइनान्सको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19