काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा बग्रेल्ती समस्या आई काम गर्न छाडेको भन्दै आक्रोशित लगानीकर्ता भद्रकालीस्थित नेप्से परिसरमा जम्मा हुन थालेका छन् । 

अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा कमजोरी देखिएको, बजार सुधार र बिस्तारका रणनीतिक कामहरु अवरुद्ध हुँदा लगानीकर्ताको बीचमा चरम निराशा भएको भन्दै लगानीकर्ताका चारवटा संगठनले एकैपटक आन्दोलनमा उत्रिने आइतबार निर्णय गरेका थिए र लगानीकर्तालाई सोमबार नेप्सेमा भेला हुन आह्वान गरेका थिए । 

नेप्से तथा धितोपत्र बोर्डको लापरबाही, पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा भएको हेलचेक्र्याईविरुद्ध लगानीकर्ताका संगठनले पहिलो चरणमा दवाबमूलक कार्यक्रम गर्न लागेका हुन् । 

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघको आह्वानमा लगानीकर्ता संघर्षमा उत्रिएका हुन् । 

नियमनकारी निकायको उदासीनताले पूँजीबजारमा गम्भीर समस्या उत्पन्न भएको भन्दै आफ्नो सम्पत्ति सुरक्षाका लागि सबै लगानीकर्तालाई अनिवार्य उपस्थित हुन भनिएको छ । 

लगानीकर्ताका संघ संगठनले पूँजीबजारका १५ लाख बढी लगानीकर्ताहरुको १४ खर्ब बढी सम्पत्तिको सुरक्षामै गम्भीर चुनौति देखा परेको भन्दै आन्दोलनको विकल्प नरहेको प्रष्ट्याएका छन् ।