काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ। 

बजार आज ७१.२० अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २५९१.४२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.३८ अंकले बढ्दै ४८२.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

बजार जानकार गोविन्दप्रसाद घिमिरे बीमा समूहमा चमक आउँदा आज बजार उकालो लागेको बताउँछन्। ‘बीमा कम्पनीहरुलाई पुँजी वृद्धिका लागि हकप्रद ल्याउन दिने खबरले पनि बीमा कम्पनीहरुको सेयरभाउमा उछाल आएको हो’, उनले भने।

घिमिरेले बीमा कम्पनीहरुले अझै केही दिन बजारको नेतृत्व गर्न सक्ने बताए। ‘बीमा कम्पनीहरुको सेयरभाउ निकै घटेको थियो, अब यिनै कम्पनीले बजारले बढाउन मद्दत गर्ने देखिन्छ’, उनले भने।

बजारमा सकारात्मक महौल बन्दै गएको घिमिरेको भनाइ छ। ‘अब बजार सामान्य करेक्सन हुँदै माथि नै जाने देखिन्छ’, उनले भने, ‘राम्रा र बलिया कम्पनीमा लगानीकर्ता फाइदै हुन्छ।’

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला पनि घिमिरेकै भनाइसँग सहमत छन्। बीमा सेक्टरमा चमक आउँदा बजार उकालो लागेको उनी बताउँछन्। ‘पछिल्लो समयको बढाइले बजारको बटम प्वइन्ट यसअघिको २२६० विन्दु नै रहेको प्रस्ट भएको छ’, उनले भने। 

सरकारले पुँजीगत खर्च बढाउँदै जाँदा तरलता सहज बन्दै गएको हुन सक्ने बास्तोलाले बताए। ‘चुनावको सम्भावना पनि देखिन्छ’,उनले भने, ‘यसले समग्रमा तरलता सहज हुने भएकोले ठूला लगानीकर्ताहरु पनि बजार पसेको देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक ९.७८ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ८.१७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.१९ प्रतिशत, व्यापार समूहमा ०.८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६१ प्रतिशत, विकास बैंक समूहमा १.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ५.५२३ प्रतिशत, अन्य समूहमा २.५६ प्रतिशत, लघुवित्त समूहमा ३.५६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७१ प्रतिशत र लगानी समूहमा ३.०१ प्रतिशतको बढोत्तरी आएको छ।

आज वित्त समूह १.१२ प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.१२ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ८६ लाख १ हजार ९५६ कित्ता सेयर ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नबिल बैंकको सर्वाधिक ३२ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको २६ करोड ६६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफको १९ करोड ७ लाख रुपैयाँ, शिवम सिमेन्टको १५ करोड ५२ लाख रुपैयाँ, नेपाल टेलिकमको १३ करोड ३३ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड २१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड ६४ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ९ करोड ६४ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ९ करोड ६४ लाख रुपैयाँ र अप्पर तामाकोशीको ९ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २१ वटा बीमा कम्पनीसहित २६ वटा कम्पनीका सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। 

नेसनल लाइफ, युनाइटेड इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एसियन लाइफ, प्राइम लाइफ, गुराँस लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ, ज्योति लाइफ, सानिमा लाइफ र मध्य भोटेकोशी जलविद्युतको सेयरभाउमा १० प्रतिशत तथा जनरल इन्स्योरेन्स, सूर्या लाइफ, एनएलजी इन्स्योरेन्स, नेपाल लाइफ, नेपाल इन्स्योृरेन्स, शिवम् सिमेन्ट, बोटलर्स नेपाल (तराई), किसान लघुवित्त, नेको इन्स्योरेन्स, कालिका लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन अजोड इन्स्योरेन्स, मिथिला लघुवित्त र युनियनल लाइफको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

आज गोर्खाज फाइनान्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ झन्डै ६ प्रतिशतले ओरालो लागेको छ।