काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य करेक्सन भएको छ।

आज बजार १०.८३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २९२०.५१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.०६ प्रतिशतले बढेर ५४३.८० को विन्दुमा उक्लिएको छ। कारोबार रकम ७ अर्ब बढीको भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट आज बढाइ सामान्य नै करेन्सन नै रहेको बताउँछन्। ‘बजार सकारात्मक नै छ, अब बजार ३५०० को विन्दुमा नपुगेसम्म ठूलो करेक्सन आउँदैन’, उनले भने। 

तरलताको समस्या विस्तारै समाधान हुँदै गएको पनि बिष्ट बताउँछन्। ‘बजार अझै केही समय बढ्ने नै देखिन्छ’, उनले भने, ‘चुनाव पनि आउँदैछ, हरेक चुनावमा अनौपचारिक रुपमा अर्थतन्त्र मौलाउने हुँदा यसले पनि बजारमा सकारात्मक प्रभाव नै पर्नेछ।’ 

बिष्टका अनुसार यही मंगलबार वा बुधबार चुनाव घोषणा हुन सक्छ। ‘चुनाव भयो भने बजारमा सकारात्मक महौल नै बन्छ’, उनले भने।
सक्रिय लगानीकर्ता महेश रिजाल पनि ढिलोचाँडो चुनाव हुने हुँदा बजारमा सकारात्मक नै प्रभाव पर्ने बताउँछन्। ‘चुनाव घोषणा हुन केही ढिला हुने भएकोले लगानीकर्ताहरु आक्रामक रुपमा कारोबारमा नउत्रिएका हुन सक्छन्’, उनले भने।

आजको घटाइ सामान्य करेक्सन नै रहेको रिजालको तर्क। ‘आज बजारमा करेक्सन आउनु तर कारोबार बढ्नुले बजार थप मजबुत नै रहेको देखिन्छ’, उनले भने, ‘अर्कोतर्फ दीर्घकालीन लगानीकर्ताका लागि बजार पस्ने अवसर पनि बनेको देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक १.६८ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह १.३८ प्रतिशतले बढेको आज निर्जीवन बीमा समूहमा ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५६ प्रतिशतको बढोत्तरी भएको छ।

आज वित्त समूह सर्वाधिक २.७७ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.५८ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.८७ प्रतिशत, व्यापार समूहमा १.४७ प्रतिशत, विकास बैंक समूहमा १.३९ प्रतिशत, जलविद्युत समूहमा १.२२ प्रतिशत, लघुवित्त समूहमा ०.२ प्रतिशत र लगानी समूहमा १.१४ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६३ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल टेलिकमको सर्वाधिक ३२ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १९ करोड १ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको १७ करोड ५२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १७ करोड ४७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १६ करोड ९६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १५ करोड ४ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको १४ करोड ७६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १४ करोड ६१ लाख रुपैयाँ, अप्पर तामाकोशीको १३ करोड २९ लाख रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सको १२ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रोपावर र मैलुङखोला जलविद्युतको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो दिन सामलिङ्ग पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। गोर्खाज फाइनान्सको सेयरभाउ पनि ६ प्रतिशतको हाराहारीमा घटेको छ।