काठमाण्डौ । यो साता लगातार तेस्रो दिन सेयर बजार ओरालो लागेको छ। 

आज मंगलबार पनि सेयर बजार ५.५९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८१५.०६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.०९ अंकले घटेर ५२४.९४ को विन्दुमा झरेको छ। कारोबार रकम पनि हिजोको तुलनामा घटेर सवा ५ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमकी अध्यक्ष दुर्गा तिवारी पनि बजार आज सम्हालिएको बताउँछिन्। ‘चुनाव नहुने हल्ला, एनआईसी एसिया बैंकको लाभांश रद्द, आन्तरिक ऋण उठाउने तयारीजस्ता कारणले हिजो बजारमा करेक्सन आएको हो’, उनले भनिन्, ‘तर चुनाव गराउन निर्वाचन आयोग तयार रहेको भन्ने कुरा आएपछि बजार सम्हालियो, अब बजार सकारात्मक ढंगले नै बढ्नेछ।’

सरकारले खर्च बढाउँदै लैजाने भएकोले बजारमा तरलता पनि विस्तारै सहज हुने तिवारी बताउँछिन्। ‘सबैतिर सकारात्मक महौल बन्दैछ’, उनले भनिन्, ‘बजार छिट्टै नयाँ उचाइ चुम्छ भन्ने लाग्छ।’ 

सक्रिय लगानीकर्ता प्रकाश रजौरे आज बजार सम्हालिएको बताउँछन्। ‘हिजो ट्रेडरहरु हावी हुँदा बजारमा भारी गिरावट आएको थियो, नाफा बुक पनि भएको हुन सक्छ’, उनले भने, ‘बजार धेरै घट्ला भनेर केहीले आत्तिएर पनि सेयर बेचेका हुन सक्छन्।’

बजार अवस्था सामान्य रहेको रजौरे बताउँछन्। ‘बजार लयमै छ, करेक्सन आउँदैमा आत्तिहाल्नु हुँदैन’, उनले भने।

चुनावको विषयमा अनावश्यक चर्चा हुँदा पनि बजारमा केही प्रभाव परेको रजौरेको भनाइ छ। ‘चुनावको विषयमा निर्णय भइसकेको छैन, चुनाव केही महिना धकेलिएको खण्डमा पनि सेयर बजारलाई खासै प्रभाव पर्दैन’, उनले भने।

बजारमा बुल नसकिएको रजौरेका बताउँछन्। ‘त्यसैले बजार करेक्सन हुँदै माथि नै जान्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटामात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूहमात्रै ०.४४ प्रतिशतले उकालो लागेको हो।

आज अन्य समूह सर्वाधिक ०.४५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ०.४ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.२३ प्रतिशत, व्यापार समूहमा ०.०५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१४ प्रतिशत, जलविद्युत समूहमा ०.३१ प्रतिशत, वित्त समूहमा ०.२५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.१९ प्रतिशत, लघुवित्त समूहमा ०.३१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०९ प्रतिशत र लगानी समूहमा ०.४ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन एसियन लाइफ इन्स्योरेन्सको सर्वाधिक २६ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको २२ करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको १९ करोड ६८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड २२ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड ७६ लाख रुपैयाँ, अप्पर तामाकोशीको १२ करोड ३३ लाख रुपैयाँ, एचआईडीसीएलको ११ करोड ५३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड ९४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड ६३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको १० करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हारहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन गोर्खाज फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ झन्डै ५ प्रतिशतले ओरालो लागेको छ।