काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज ४०.५७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८३६.१७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले घटेर ५३१.९२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने ६ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे आजको बजार घटाइलाई नितान्त र स्वाभाविक करेक्सन रहेको बताउँछन्। ‘किनकि बजार २२६० देखि लगातार बढेका कारण आज घटेको हो’, उनले भने।
सरकारले निर्वाचनको मिति नतोक्न लगानीकर्ताहरुमा अन्यौलता पनि देखिएको घिमिरेको बताउँछन्। ‘पछिल्लो समय एमसीसी पनि पेचिलो बनेको छ’, उनले भने, ‘यद्यपि राजनीतिक परिस्थिति जेसुकै भए पनि डराउनुपर्ने अवस्था छैन। किनकि आन्तरिक रुपमा सबै दलहरु एमसीसीकै पक्षमा रहेकाजस्तो देखिन्छ।’
बजार केही दिन साइडवेजमा जान सक्ने घिमिरेको भनाइ छ। ‘बजार बुलिस नै रहेकोले आत्तिनुपर्ने अवस्था छैन’, उनले भने।
सक्रिय लगानीकर्ता महेश रिजाल बजार घट्नुमा केही कारण रहेको बताउँछन्। चुनावको मिति घोषणा नहुनु, एमसीसीको विषयमा पेचिलो बन्नु, जलविद्युतमा धेरै बढेकोले नाफा बुक हुनु, राष्ट्र बैंकले ७ लाख माथिको नगद कारोबारको विवरण माग्नुलाई गलत रुपमा बुझ्नुले बजार केही प्रभावित भएको हुन सक्ने उनको भनाइ छ। ‘राष्ट्र बैंकले विवरण माग्नुको पछाडि क्रिप्टोकरेन्सीको अवैध कारोबार रोक्नु नै हो’, उनले भने।
सेयर बजारमा अहिले नै डराउनुपर्ने अवस्था नरहेको रिजालको तर्क छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूह ३.५७ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.४१ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.०४ प्रतिशत, व्यापार समूहमा १.६६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५९ प्रतिशत, विकास बैंक समूहमा १.९६ प्रतिशत, जलविद्युत समूहमा १.१३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८२ प्रतिशत, अन्य समूहमा १.६८ प्रतिशत, लघुवित्त समूहमा १.४८ प्रतिशत, म्युचुअल फन्ड समूहको ०.३७ प्रतिशत र लगानी समूहमा १.३१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा किनेबच भएका छन्।
यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५४ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ४२ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको २५ करोड ९५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २४ करोड ११ लाख रुपैयाँ, अप्पर तामाकोशीको २२ करोड ३८ लाख रुपैयाँ, एचआईडीसीएलको २० करोड ४७ लाख रुपैयाँ, सिनर्जी पावरको १५ करोड २३ लाख रुपैयाँ, अरुण काबेली पावरको १४ करोड ४३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १४ करोड ९ लाख रुपैयाँ र नेपाल टेलिकमको १३ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने धेरै गुमाउने
यो दिन नेसनल हाइड्रो डेभलपर्सका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।
आज विन नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतले गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago