काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ।

आज बजार १६.३० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८३५.५८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८२ अंकले घटेर ५३२.४९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने सवा ६ अर्ब रुपैयाँ बढीको भएको छ।

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की आज करेक्सनलाई नितान्त नाफबुक नै रहेको बताउँछन्। ‘चुनावको मिति घोषणा हुने भन्ने बजारमा पहिले नै हल्ला चलिसकेको थियो, जसका कारण बजार २९०० माथि पुगेको थियो’, उनले भने, ‘बजारले करेक्सन खोजिरहेको थियो तर हिजो बढ्यो, आज घट्नु करेक्सन नै हो।’

प्राविधिक रुपमा बजारले २९०० माथि धेरै पटक प्रतिरोध गरेको उल्लेख गर्दै कार्कीले भने, ‘यसले बजारमा अझै केही दिन करेक्सन हुने देखिन्छ। तर अब बजार करेक्सन हुँदै माथि नै जाने हो।’

हाल अल्पकालीन बिक्रीकर्ता हावी हुँदा बजार घटेको कार्की बताउँछन्। ‘आज परिसूचक घटे पनि कारोबार बढेकोले बजार मजबुत नै रहेको छ भन्ने बुझिन्छ’, उनले भने।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट चुनावको मिति घोषणा भएपछि सेयर बेच्नुपर्छ भन्ने धेरै लगानीकर्ताको योजनाले गर्दा बजारमा आज सामान्य करेक्सन आएको बताउँछन्। ‘केही दिनको करेक्सनपछि बजारले लय समात्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.४७ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ०.४३ प्रतिशतले बढेको आज व्यापार समूहमा ०.०९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१२ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशतको बढोत्तरी भएको छ। 

आज लगानी समूह र जलविद्युत समूह सर्वाधिक १.५४ अंकले ओरालो लागेका छन्। जीवन बीमा समूह १.०७ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.३६ प्रतिशत, विकास बैंक समूहमा १.०२ प्रतिशत, वित्त समूहमा ०.३७ प्रतिशत, अन्य समूहमा ०.०९ प्रतिशत, लघुवित्त समूहमा ०.६५ प्रतिशत र जीवन बीमा समूहमा १.०७ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका १ करोड २० लाख ५३ हजार ७५१ कित्ता सेयर ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँमा किनबेच भएका छन्।

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ३५ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ३३ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन निफ्राको ३२ करोड ३३ लाख रुपैयाँ, अप्पर तामाकोशीको ३२ करोड ८ लाख रुपैयाँ, एचआईडीसीएलको ३० करोड १२ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २१ करोड १४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १६ करोड १ लाख रुपैयाँ, नेपाल टेलिकमको १३ करोड ४४ लाख रुपैयाँ, अरुण काबेली पावरको ११ करोड ३४ लाख रुपैयाँ र सानिमा माई हाइड्रोपावरको १० करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज नेपाल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यो दिन लिबर्टी इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।