काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

आज बजार ११.९६ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २८०१.५६ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७० प्रतिशतले घटेर ५२७.२८ को विन्दुमा झरेको छ। कारोबार रकम पौने ४ अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार चुनावको विषयमा पहिले नै बजार बढेकोले यो साता बजारमा करेक्सन आएको बताउँछन्। ‘एमसीसीको विषय निकै पेचिलो बनेको छ, यसले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेका कारण कारोबार बढ्न सकेको छैन’, उनले भने।

सेयर धितो कर्जाको सीमा घट्न सक्ने हल्लाले पनि बजार प्रभावित भएको रौनियार बताउँछन्। ‘तर सेयर धितो कर्जाको सीमा थोरै तलमाथि हुँदैमा डराउनुपर्ने अवस्था छैन’, उनले भने, ‘बजार छिट्टै सम्हालिन्छ।’

चुनावको महौल सुरु हुनु थालेपछि बजार फेरि विस्तार माथि नै जाने उनको भनाइ छ। 

बजार जानकार सरोज भट्टराई बजार घट्नुमा केही कारणहरु रहेको बताउँछन्। पहिलो मुख्य कारण राजनीतिक परिस्थिति नै रहेको भट्टराईको  भनाइ छ। ‘एमसीसीको मुद्दा पेचिलो बनेको छ’, उनले भने। 

अहिले अफ सिजन भएर पनि बजार सुस्त बनेको भट्टराई तर्क छ। ‘धेरैजसो कम्पनीले लाभांश घोषणासँगै एजीएम गरिसकेका छन्’, उनले भने। 

तरलता अभावसँगै ब्याजदर बढ्ने हल्लाले पनि बजारमा केही दिनयता करेक्सन आइरहेको भट्टराईको भनाइ छ। ‘केही समय बजार सामान्य ढंगले नै चल्ने र अब कम्पनीहरुको तेस्रो त्रैमासमा वित्तीय विवरण आएपछि मात्रै ठूलो फेरबदल हुन सक्छ’, उनले भने। 
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक १.५७ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.५४ प्रतिशतले बढेको आज म्युचुअल फन्डमा ०.०३ प्रतिशतको बढोत्तरी भएको छ।

आज जलविद्युत समूह सर्वाधिक ०.८१ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह ०.६९ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६२ प्रतिशत, विकास बैंक समूहमा ०.५९ प्रतिशत, वित्त समूहमा ०.५३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०२ प्रतिशत, जीवन बीमा समूहमा ०.०९ प्रतिशत र लगानी समूहमा ०.५८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ६९ लाख ५० हजार ८३८ कित्ता सेयर ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल टेलिकमको सर्वाधिक २५ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको २२ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको आज आईएमई जनरल इन्स्योरेन्सको १९ करोड ८१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १६ करोड २६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ७१ लाख रुपैयाँ, अपी पावरको १४ करोड ६६ लाख रुपैयाँ, एचआईडीसीएलको १३ करोड ७६ लाख रुपैयाँ, अप्पर तामाकोशीको १३ करोड ७० लाख रुपैयाँ, निफ्राको १२ करोड ९९ लाख रुपैयाँ र शिवम सिमेन्टको ८ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन सिन्धु विकास बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउमा २ प्रतिशत बढीको गिरावट आएको छ।

आज मिथिला लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतले ओरालो लागेको छ।