काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।
आज बजार २५.४१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २७१८.५१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.१५ अंकले बढेर ५१८.७९ को विन्दुमा पुगेको छ। कारोबार रकम ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आज बजार बढ्नुमा राजनीतिक अन्यौलता केही कम हुनु नै मुख्य कारण रहेको बताउँछन्। ‘हिजो एमसीसीका विषयमा केही अन्यौलता थियो, जसका कारण बजार घट्यो’, उनले भने।
ढकाल अब बजार सकारात्मक ढंगले नै अगाडि बढ्ने केही आधारहरु रहेको बताउँछन्। ‘लामो समयपछि धितोपत्र बोर्ड र नेप्से दुवैमा नेतृत्व आएका छन्’, उनले भने, ‘अब नयाँ नेतृत्वमा सकारात्मक कामहरु हुने अपेक्षा लगानीकर्ताहरुमा देखिएको छ। यसले पनि बजारमा सकारात्मक महौल बनेको छ।’
दलहरुबीच विवादकै बीच पनि संसदमा एमसीसी टेबल भएका कारण यसले पनि बजारमा सकारात्मक प्रभाव परेको ढकालले बताए।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला आज बजार बढ्नुमा लगानीकर्ताहरुमा अन्यौलता हटेको प्रस्ट बुझ्न सकिने बताउँछन्। ‘एमसीसी संसदमा टेबल भएको छ, यसले बजारमा सकारात्मक प्रभाव पारेको छ’, उनले भने।
कारोबार केही घटेकोले अझै केही लगानीकर्ता पर्ख र हेरको रणनीतिमा बसेको हुन सक्ने बास्तोला बताउँछन्। प्राविधिक रुपमा बजार तल झर्ने क्रम रोकिएको भन्न सकिने बास्तोला बताउँछन्।
आज नेप्से उपसमूहमा रहेको १३ वटा समूहमा हरियाली छाएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २.२४ प्रतिशतले उकालो लागेको छ। अन्य समूह १.२५ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.९५ प्रतिशत, व्यापार समूहमा ०.२८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.१६ प्रतिशत, विकास बैंक समूहमा ०.४९ प्रतिशत, वित्त समूहमा १.२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९९ प्रतिशत, लघुवित्त समूहमा ०.२४ प्रतिशत, जीवन बीमा समूहमा ०.१३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२३ प्रतिशत र लगानी समूहमा १.२३ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक २६ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ। जीवन विकास लघुवित्तको २६ करोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १० करोड १८ लाख रुपैयाँ, अपी पावरको ९ करोड ५० लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ८ करोड ५६ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्सको ७ करोड ९७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ४८ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ५२ लाख रुपैयाँ, साहस ऊर्जाको ५ करोड ९९ लाख रुपैयाँ र एचआईडीसीएलको ५ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। युनाइटेड इदी मर्दीको सेयरभाउमा १० प्रतिशत र गुराँस लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन कालिका लघुवित्त र ग्रामीण विकास लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै लघुवित्तको सेयरभाउमा २ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago