काठमाण्डौ । धितोपत्र करोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज ४३.१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६१०.५८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स ६.६४ अंकले घटेर ५००.२१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे ३ अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आज बजार घट्नुमा मुख्य समस्या तरलतामा दबाब र राष्ट्र बैंकको नीति नै रहेको बताउँछन्। ‘यद्यपि यो बेला सेयर बजारका लागि अफ सिजन पनि हो’, उनले भने, ‘त्यसमा तरलता दबाब र राष्ट्र बैंकको नीतिले केही प्रभावित बन्यो।’

अहिले हकप्रद तथा बोनस सेयर पनि नेप्सेमा थपिँदा बजारमा आपूर्ति बढ्न गई केही करेक्सन भएको ढकालको भनाइ छ। एमसीसीले बजार घट्छ वा बढ्छ भन्नु कुतर्क हुने ढकाल बताउँछन्। ‘एमसीसी भर्खरै त संसदबाट पास भएको छ, यो राम्रो पक्ष हो तर एमसीसीकै कारण अहिले नै बढ्नुपर्ने वा घट्नुपर्ने कुनै कारण नै छैन’, उनले भने।

बजार सधैँ बढेको बढ्यै र घटेको घट्यै नगर्ने उल्लेख गर्दै ढकालले लगानीकर्तालाई सुझाव दिँदै भने, ‘धैर्य गरेर कारोबार गर्नुहोस्, बजार केही दिनमै फर्किन्छ।’

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि अहिले बजार घट्नुमा तरलतामा दबाब पर्नु नै रहेको बताउँछिन्। ‘अहिले बैंकबाट एक लाख ऋण लिन पनि सहज छैन’, उनले भने, ‘राज्य तरलता सहज हुने काम गर्नुपर्छ। नीति निर्माणमा ध्यान दिनुपर्छ।’

पोखरेलले एमसीसी पास हुँदैमा र चुनाव घोषणा हुँदैमा तत्काल तरलता सहज नहुने बताउँछिन्। ‘तरलता विस्तारै सहज हुँदै जानेछ, बजार पनि लयमा फर्किनेछ’, उनले भने, ‘अहिलेलाई राम्रा कम्पनीहरुको सेयर छानी–छानी उठाउने अवसर छ, बुझेर लगानी गर्दा फाइदा हुन्छ।’

आज नेप्से उपसमूहका रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूह सर्वाधिक ३.०९ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह २.९५ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.९१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८४ प्रतिशत, विकास बैंक समूहमा १.६३ प्रतिशत, वित्त समूहमा २.०६ प्रतिशत, निर्जीवन बीमा समूहमा २.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २ प्रतिशत, अन्य समूहमा १.५३ प्रतिशत, लघुवित्त समूहमा १.२३ प्रतिशत, जीवन बीमा समूहमा २.०९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१३ प्रतिशत र लगानी समूहमा २.१७ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ७८ लाख ३४ हजार ९१५ कित्ता ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रुपैयाँमा कारोबार भएका छन्।

आज अपी पावरको सर्वाधिक १६ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको १४ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको १३ करोड ३५ लाख रुपैयाँ, अप्पर तामाकोशीको १३ करोड १७ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड २४ लाख रुपैयाँ, नेपाल लाइफको ११ करोड ५२ लाख रुपैयाँ, युनिर्भसल पावरको ११ करोड १८ लाख रुपैयाँ, नेपाल टेलिकमको १० करोड ९६ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ५० लाख रुपैयाँ र अरुण काबेली पावरको ९ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन तारागाउँ रिजेन्सी होटेलका सेयरधनीहरुले धेरै कमाए। यो होटेलको सेयरभाउ १ प्रतिशत बढीले उकालो लागेको छ।

आज तेह्रथुम पावर र सामलिंग पावरका सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीको सेयरभाउमा १० प्रतिशत गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।