काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारमा सोमबार झिनो सुधार देखिएको छ।

आज बजार १.५५ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २५४४.९४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले बढेर ४९२.५३ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि हिजोको तुलनामा थोरै बढेर साढे २ अर्ब रुपैयाँ बढीको भएको छ। 

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्। ‘बजार फर्किन खोजेको तर गुड न्युजको प्रतीक्षा गरिरहेको देखिन्छ’, उनले भने। 

फागुनमा ब्याजदर बढेको र चैतमा के हुन्छ भन्ने चासो लगानीकर्तामा रहेको पनि बास्तोला बताउँछन्। ‘राष्ट्र बैंकले ब्याज र मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्छ’, उनले भने, ‘किनकि ब्याजदर बढाउँदैमा तरलता बढ्ने होइन।’

पछिल्लो समय राजनीतिक घटनाक्रमलाई लिएर बजारमा चलेका हल्लाले पनि लगानीकर्ता अन्यौलमा परेको बास्तोला बताउँछन्। 

प्राविधिक रुपमा बजार सपोर्टमै चलेको बास्तोलाले बताए। ‘केही दिनमै बजार लयमा फर्किन सक्ने सम्भावना पनि छ’, उनले भने।

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने पनि लगानीकर्ताहरु पर्ख र हेरकै अवस्थामा रहेको बताउँछन्। ‘अहिलेको नेपालको अर्थतन्त्रको अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम, नेप्से र सेबोनका नयाँ नेतृत्वबाट हुने कामको अपेक्षा, चैतमा ब्याजदर के हुने भन्ने विषयले लगानीकर्तामा अन्यौलता देखिन्छ’, उनले भने, ‘तर प्राविधिक रुपमा बजार २५४० कै आसपासबाट फर्किने सम्भावना पनि प्रबल छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह सर्वाधिक १.५८ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.४७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.३२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४९ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.०९ प्रतिशतको बढोत्तरी भएको छ।

आज वित्त समूह सर्वाधिक १.३४ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह १.१७ प्रतिशतले घटेको यो दिन व्यापार समूहमा ०.६ प्रतिशत, विकास बैंक समूहमा ०.४९ प्रतिशत, जलविद्युत समूहमा १.०४ प्रतिशत, लघुवित्त समूहमा ०.०९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशत र लगानी समूहमा ०.६८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०३ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक २७ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १२ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ५० लाख रुपैयाँ, पाँचथर पावरको १० करोड ४२ लाख रुपैयाँ, नेपाल बैंकको ९ करोड ८७ लाख रुपैयाँ, अपी पावरको ६ करोड १० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ६८ लाख रुपैयाँ र नबिल बैंकको ४ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।

यो दिन पाँचथर पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।