काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज ३०.२९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५१४.६५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इक्डेक्स पनि ५.४६ अंकले घटेर ४८७.०७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ।

बजार जानकार गोविन्दप्रसाद घिमिरे तरलतामा संकट र ब्याजदर बढ्ने हल्लाले बजार प्रभावित भएको बताउँछन्। ‘मुख्य समस्या अहिले पैसाकै अभाव हो’, उनले भने। 

ठूलो संख्यामा सेयर उठाउने सस्तोमा पैसा नपाउँदा बजार बढ्न नसकेको घिमिरेको तर्क छ। ‘लगानीकर्ताहरुले घट्दो बजारमा सस्तोमा सेयर बेच्न नचाहँदा कारोबार घटेको हो’, उनले भने। 

घिमिरे लगानीकर्ताहरु चैतमा ब्याजदर के होला भन्ने प्रतीक्षामा रहेको बताउँछन्। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट पनि अहिले बजार घट्नुको मुख्य कारण नै ब्याजदर बढ्ने हल्ला नै रहेको बताउँछन्। ‘बजारमा राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ब्याजदर बढाउन सक्ने हल्ला चलेको छ’, उनले भने, ‘त्यही भएर बजार बढ्न नसकेको हो।’

लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेकोले बजार अझै केही दिन साइडवेजमै चल्ने सम्भावना रहेको बिष्टको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ३.०३ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.३५ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.७८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४१ प्रतिशत, जलविद्युत समूहमा १.८३ प्रतिशत, वित्त समूहमा २.२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७९ प्रतिशत, अन्य समूहमा १.२७ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, जीवन बीमा समूहमा १.०७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१९ प्रतिशत र लगानी समूहमा १.६५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन नेपाल टेलिकमको सर्वाधिक १० करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको १० करोड ४८ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको ९ करोड ७९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ९ करोड ३८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ९५ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ६ करोड १५ लाख रुपैयाँ, पाँचथर पावरको ६ करोड ५ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ५ करोड ९५ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ७७ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज माउन्टेन इनर्जीका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन विशाल बजार कम्पनी र सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीका सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।