काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार ओरालो लागेको छ।

आज बजार १७.१५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६५०.९७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.२६ अंकले घटेर ५०२.५९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा ३ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार सरोज भट्टराई बजार डेढ सय अंकजतिले बढेकोले आज बजारमा करेक्सन आएको बताउँछन्। ‘यसलाई स्वाभाविक रुपमा लिनुपर्छ’, उनले भने।

बजार बढ्नका लागि नयाँ लगानीकर्ता प्रवेशको आवश्यक पनि हुने भट्टराईले बताए। ‘अहिले नयाँ लगानीकर्ता पसिहालेको अवस्था देखिँदैन’, उनले भने, ‘अर्कोतर्फ बजारमा ठूलो उतारचढावको सम्भावना पनि देखिँदैन।’

दीर्घकालीन लगानीका लागि भने अहिले सेयर उठाउने उपयुक्त समय रहेको भट्टराईको भनाइ छ। ‘कम्तीमा ३–४ का लागि राम्रा कम्पनीमा लगानी गर्दा फाइदा नै हुन्छ’, उनले भने।

बजार घट्दा टर्नओभर घट्नु स्वाभाविक नै रहेको भट्टराईले बताए।

सक्रिय लगानीकर्ता महेश रिजाल आजको घटाइलाई करेन्सन नै मान्नुपर्ने बताउँछन्। ‘बजारमा अब केही सकारात्मक विषय पनि छन्’, उनले भने, ‘चुनाव हुँदैछ, विकास खर्च पनि बढ्दै जाँदा तरलता सहज हुने देखिन्छ। यसले ब्याजदर घट्ने र सेयर बजार बढ्ने सम्भावना देखिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ४ वटा समूहमा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ३.१६ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह ०.७२ प्रतिशतले बढेको आज म्युचुअल फन्ड समूहमा ०.६१ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.५६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.६२ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.५१ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.६८ प्रतिशत, व्यापार समूहमा १.०६ प्रतिशत, विकास बैंक समूहमा ०.२८ प्रतिशत, जलविद्युत समूहमा १.४४ प्रतिशत, वित्त समूहमा ०.५१ प्रतिशत, लघुवित्त समूहमा ०.७७ प्रतिशत र लगानी समूहमा ०.८२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ६५ लाख २९ हजार २६ कित्ता सेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँमा किनबेच भएका छन्। 

यो नेपाल टेलिकमको सर्वाधिक ३४ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १२ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ८४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १० करोड ९१ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड १४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ८ करोड १७ लाख रुपैयाँ, पाँचथर पावर कम्पनीको ७ करोड ९१ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ७ करोड २५ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ६ करोड ५८ लाख रुपैयाँ र अप्पर तामाकोशीको ६ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको छ।

आज नेपाल टेलिकमका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।