काठमाण्डौ । सेयर बजारमा सोमबार सुधार देखिएको छ।
बजार आज १८.०७ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २६३४.६५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९२ अंकले बढेर ४९६.३० को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे २ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार धेरै तल आएकोले आज बढेको बताउँछन्। ‘तरलता पनि केही सहज भएकोले बजार बढ्नलाई टेवा पुगेको छ’, उनले भने।
चुनावी माहौल पनि सुरु भइसकेको ढकालले बताए। ‘किनकि १ लाख म्यादी प्रहरीका लागि आवेदन खुलिसकेको छ’, उनले भने, ‘चुनावी खर्चले बजारमा तरलता सहज हुने देखिन्छ।’
स्थानीय सरकारले विकास निर्माणका गतिलाई तीव्रता दिन थालेको उल्लेख गर्दै ढकालले यसले विकास खर्च बढ्ने र पैसा बजारमा आउने बताए।
आगामी बजेट निर्माणको काम पनि अगाडि बढेकोले सबैतिर महौल सकारात्मक बन्दै गएको ढकालले बताए। ‘त्यसैले बजारमा पनि अब सकारात्मक माहौल सिर्जना हुने देखिन्छ’, उनले भने।
सक्रिय लगानीकर्ता विष्णु भुसाल आज बजार बढ्नुमा दुई मुख्य कारण रहेको बताउँछन्। ‘पहिलो कारण माग र आपूर्तिको नियमअनुसार आपूर्ति घट्दा बजार बढेको छ’, उनले भने, ‘दोस्रो कारण भनेको धेरै लगानीकर्तामा चैतमा अफ सिजन हुने र यही बेला सस्तोमा सेयर उठाउने अवसर हुने भन्ने मानसिकताले पनि बजार बढ्न पुगेको हो।’
विस्तारै सरकारी खर्च पनि बढ्न थालेकोले अब बजारमा तरलता सहज हुने र सेयर बजार पनि उकालो लाग्ने भुसालको भनाइ छ। ‘प्राविधिक रुपमा पनि २६०० को बलियो मनोवैज्ञानिक विन्दु बजार उकालो हुन सक्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटा समूहमा हरियाली छाएको छ भने २ वटामा मात्रै रातो पोतिएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक २.९५ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह २.७३ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.३५ प्रतिशत, व्यापार समूहमा १.४ प्रतिशत, वित्त समूहमा २.५८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५५ प्रतिशत, लघुवित्त समूहमा ०.६६ प्रतिशत, जीवन बीमा समूहमा १.१८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५८ प्रतिशत र लगानी समूहमा १.०४ प्रतिशतको बढोत्तरी भएको छ।
आज अन्य समूह सर्वाधिक १.९ प्रतिशतले ओरालो लागेको छ भने होटेल तथा पर्यटन समूहमा ०.४३ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ५१ लाख ८९ हजार ८३ कित्ता सेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक २० करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ९ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको आज जीवन विकास लघुवित्तको ९ करोड ६ लाख रुपैयाँ, अपी पावरको ९ करोड २ लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ७३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ४७ लाख रुपैयाँ, निफ्राको ६ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकको ५ करोड ९३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ५ करोड ५० लाख रुपैयाँ र माउन्टेन हाइड्रोको ५ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो दिन नेपाल टेलिकमका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago