काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार दोहोरो अंकले ओरालो लागेको छ।

आज बजार २३.९५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५४४.३० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.६ अंकले घटेर ४७५.४७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने २ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे बजारमा चैतको प्रभाव कायम रहेको बताउँछन्। ‘बजार माथि जाने धेरै आधार बनेका छैनन्’, उनले भने, ‘ऋणको ब्याजदर बढ्न हल्ला पनि चलेको छ। त्यसैले आगामी साता पनि बजार सामान्य तलमाथि नै हुने देखिन्छ।’

वैशाखबाट बजारले गति लिन सक्ने घिमिरेको भनाइ छ। ‘चुनावी महौल सुरु भएपछि र सरकारी खर्च बढेपछि बजारमा सकारात्मक महौला सिर्जना होला’, उनले भने।

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने तरलता संकट कायमै रहेकोले बजार उकालो लाग्न नसकेको बताउँछन्। ‘धेरै घटेकोले हिजो बजार बढेको थियो’, उनले भने, ‘आज बजार घट्नुको मुख्य कारण तरलता संकट नै हो।’

आगामी साता पनि बजार सामान्य नै रहने न्यौपानेको भनाइ छ। ‘अहिले किन्ने समय हो’, उनले भने, ‘राम्रा र बलिया कम्पनीमा लगानी गर्दा राम्रै हुन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्र मात्रै हरियाली छाएको छ भने बाँकी १२ वटामा समूहमा रातो पोतिएको छ।
यो दिन व्यापार समूहमात्र ०.७५ प्रतिशतले उकालो लागेको हो। 

आज वित्त समूह सर्वाधिक २.७६ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह २.५१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३९ प्रतिशत, विकास बैंक समूहमा २.३१ प्रतिशत, जलविद्युत समूहमा १.८५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४५ प्रतिशत, अन्य समूहमा १.२६ प्रतिशत, लघुवित्त समूहमा ०.९ प्रतिशत, जीवन बीमा समूहमा १.२४ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६२ प्रतिशत र लगानी समूहमा ०.७६ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ३७ लाख ८७ हजार ४५ कित्ता १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन इमर्जिङ नेपालको सर्वाधिक ९ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एभरेष्ट इन्स्योरेन्सको ८ करोड ९५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नागरिक लगानी कोषको ७ करोड १५ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ३० लाख रुपैयाँ, युनियन लाइफ इन्स्योरेन्सको ४ करोड ८४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ४९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९५ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ९२ लाख रुपैयाँ, नेपाल बैंकको ३ करोड ८६ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ३ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीका सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। इमर्जिङ नेपालको सेयरमूल्यमा १० प्रतिशत तथा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो दिन नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड मोदी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।