काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार ओरालो लागेको छ। 

बजार आज १५.०२ अंक (०.६३ प्रतिशत) ले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २३७०.९९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७४ अंकले घटेर ४५२.९५ को विन्दुमा ओर्लेर छ। कारोबार खुम्चिएर १ अर्ब रुपैयाँ सीमित बनेको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट अस्ति बजार धेरै अंकले बढेकोले हिजो र आज करेक्सन आएको बताउँछन्। ‘बजार अब धेरै तल जाँदैन, घट्यो भनेर आत्तिनुपर्ने अवस्था छैन’, उनले भने।

बजार विस्तारै माथि नै जाने बिष्टको भनाइ छ। ‘बजेट आउँदैछ, तरलता पनि सहज हुँदै जानेछ’, उनले भने, ‘विश्व बैंकले पनि नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नरहेको भनिसकेको छ। यसले लगानीकर्ताको मनोबल बढेको छ।’

आज कारोबार घट्नुमा घाटा खाएर सेयर बेच्न नचाहेकोले हुन सक्ने बिष्ट बताउँछन्। ‘अबको डेढ वर्षमा सेयर बजार ४००० को विन्दुमा पुग्न सक्ने देखिन्छ’, उनले भने।

सक्रिय लगानीकर्ता विष्णु भुसाल आज सूचक र कारोबार दुवै घट्नुमा लगानीकर्ताहरु पर्ख र हेरको अवस्था बसेको हुन सक्ने बताउँछन्। ‘यो महिना बजार साइडवेजमै चल्ने देखिन्छ’, उनले भने। 

चुनाव नजिकिँदै गएकोले विकास खर्च पनि बढ्ने हुँदा बजारमा तरलता सहज हुने भुसाल बताउँछन्। बजेट निर्माणको काम पनि धामाधम भइरहेकोले बजार सकारात्मक नै हुने उनको तर्क छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी ११ वटा समूहमा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक १.६२ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह पनि ०.२९ प्रतिशतले बढेको छ। 

आज जलविद्युत समूह सर्वाधिक १.४९ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह १.३९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३२ प्रतिशत, व्यापार समूहमा ०.४८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१२ प्रतिशत, विकास बैंक समूहमा १.०१ प्रतिशत, वित्त समूहमा ०.९९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९३ प्रतिशत, अन्य समूहमा ०.६२ प्रतिशत, लघुवित्त समूहमा ०.२८ प्रतिशत र जीवन बीमा समूहमा ०.७५ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ३४ लाख १९ हजार २२८ कित्ता सेयर १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन सिद्धार्थ बैंकको सर्वाधिक ४ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ४ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेष्डो समृद्ध लघुवित्तको ३ करोड ५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ९२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ८५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ७९ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ५८ लाख रुपैयाँ, निफ्राको २ करोड २९ लाख रुपैयाँ, छिमेक लघुवित्तको २ करोड ११ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको २ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। 

आज हिमालयन पावर पाटर्नर र मल्टीपर्पस फाइनान्सका सेयरधनीहरु धेरै गुमाए। यी दुवै कम्पनीका सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।