काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको बुधबार सेयर बजार झिनो अंकले उकालो लागेको छ। 

बजार आज ५.१७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २३७६.१७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६१ अंकले बढेर ४५४.५६ को विन्दुमा पुगेको छ। कारोबार रकम भने १ अर्ब रुपैयाँ बढीको भएको छ।

पुँजीबजार दबाब समूहमा महासचिव नयन बास्तोला आजको बजारलाई विश्लेषण गर्दा एकपटक बाउन्सब्याक हुन सक्ने देखिएको बताए। ‘आज बजार सकारात्मक हुनुले एकपटक सानो बाउन्स आउन सक्छ’, उनले भने। 

बजारमा लगानीकर्ताहरुले सकारात्मक समाचार कुरेको अवस्था रहेको बास्तोलाले बताए। ‘चुनावी महौल सुरु भएको छ, त्यही भएर कारोबार घट्न पुगेको छ। केही गलत हल्ला पनि चलेको हुन सक्छ’, उनले भने। 

बजारमा किन्ने र बेच्नेबीच मोलमोलाइ भएको देखिएको पनि बास्तोलाले बताए। ‘केही बजार घटाउने चलखेल लागेको पनि देखिन्छ’, उनले भने, ‘तर, पनि बजार माथि नै जाने सम्भावना छ।’

सक्रिय लगानीकर्ता निमानन्द कँडेल आज बजार सम्हालिन खोजेको देखिएको बताउँछन्। ‘चुनावी खर्च पनि निकालेका हुन सक्छन्’, उनले भने, ‘तरलता सहज भएसँगै बजार माथि नै जान्छ।’

चुनावपछि तरलता सहज हुने र सेयर बजारको रौनक फर्किन सक्ने कँडेलको भनाइ छ। ‘बजार बियरिसमा जाने सम्भावना छैन’, उनले भने, ‘विस्तारै बजार सकारात्मक हुन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ९ वटामा समूहमा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। 

यो दिन विकास बैंक समूह सर्वाधिक १.८२ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.१९ प्रतिशतले बढ्दा जलविद्युत समूहमा ०.५२ प्रतिशत, वित्त समूहमा ०.८२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४ प्रतिशत, अन्य समूहमा ०.६२ प्रतिशत, जीवन बीमा समूह ०.२४ अंक र लगानी समूह ०.३८ प्रतिशतले उकालो लागेको छ। 

आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.६५ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.२५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.१८ प्रतिशत र लघुवित्त समूहमा ०.०७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका २८ लाख ८५ हजार ३९ कित्ता सेयर १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ३ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल फाइनान्सको ३ करोड ३६ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड २६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ८८ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २ करोड ७० लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको २ करोड ५२ लाख रुपैयाँ, एचआईडीसीएलको २ करोड ४७ लाख रुपैयाँ, राधी विद्युतको २ करोड ३६ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने 

आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजेटिभ सर्किट लागेको छ।

यो दिन माउन्टेन इनर्जी र मानुषी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।